लगाइसक्नुपर्ने ९ लाख जेष्ठ नागरिकले पाएका छैनन् कोभिसिल्डको दोस्रो डोज
काठमाडौँ : कोभिडविरुद्धको चिनियाँँ खोप भेरोसेलको दोस्रो डोज आजबाट लगाउन सुरु गरिएको छ । चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई यो खोप लगाउन थालिएको हो । तर, फागुन २३ मै कोभिसिल्डको पहिलो मात्रा लगाएका मध्ये धेरैले भने त्यसको दोस्रो मात्रा लगाउन पाएका छैनन् । तीमध्ये, ज्येष्ठ नागरिक सबैभन्दा धेरै छन् ।
पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउन खोप कम्पनी र विश्व स्वास्थ्य संघठनले सुझाएको छ । तर, दोस्रो मात्रा लगाउने समय उम्किदैछ । पहिलो डोज लगाएको ११ हप्ता बितिसक्दासमेत दोस्रो डोज खोप लगाउने कुनै तयारी देखिदैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका अनुसार १४ लाख ५४ हजार २ सय १४ जनाले दोस्रो डोज कोभिसिल्ड खोप लगाउन बाँकी छ ।
खोपको पहिलो डोज १८ लाख २३ हजार ६६३ जनाले लगाएका थिए । खोप शाखाका प्रमुख डा. झलक शर्माका अनुसार तिमध्ये ३ लाख ६९ हजार ४४९ जनाले मात्रै दोस्रो डोज खोप लगाएका थिए । दोस्रो डोज खोप लगाउन नपाउनेमा करिब ९ लाख जेष्ठ नागरिकहरू रहेका छन् ।
खोप शाखाका प्रमुख डा. शर्माले खोप प्राप्त हुनेबित्तिकै सूचना जारी गर्ने बताए । ‘कतिले पहिलो डोज खोप नै लगाउन पाएका छैनन्,’ उनले भने, ‘कम्तिमा उनीहरूले पहिलो डोज भए पनि पाएका छन् । विश्वभरी नै खोपको अभाव छ । हामीले भण्डारण गरेर राखेका छैनौ । सकेसम्म चाडो उपलब्ध गराउने प्रयास गर्नेछौँ ।’
नेपालमा लगभग २४ लाख कोभिसिल्ड भित्रिएको थियो । जसमा भारतले अनुदान दिएको १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र ‘कोभ्याक्स’बाट प्राप्त तीन लाख डोज खोप थियो । भारतले सेनालाई उपलब्ध गराएकाे एक लाख थियो । खोप विज्ञ डा. श्यामराज उप्रेतीका अनुसार पहिलो र दोस्रो खोपको बिचमा लामो अन्तर हुँदा खोपको प्रभावकारिता घट्छ ।
‘पहिलो र दोस्रो खोपबीच ग्याप हुँदा खोपको प्रभावकारिता घट्छ,’ उनी भन्छ्न, ‘प्रभावकारिता घटेपछि संक्रमणको जोखिम बढ्छ ।’ त्यस्तै, उनले एउटा खोप लगाइसकेको व्यक्तिले अर्को खोप लगाउन नमिल्ने समेत बताए । ‘पहिलो मात्रा एउटा कम्पनीको खोप लगाएर दोस्रो मात्रा अर्को कम्पनीको लगाउन मिल्दैन,’ उनले भने, ‘यस विषयमा अहिलेसम्म खासै अध्ययन नभएकाले पहिला जुन खोप लगाएको हो, दोस्रो पनि त्यही नै लगाउनुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया