स्वास्थ्य

कोभिडको डरले क्यान्सरको उपचार नरोकौँ

डा. अरुण शाही |
जेठ ३, २०७८ सोमबार ६:२९ बजे

कोभिड-१९ ले मुलकुलाई नै आक्रान्त बनाएको छ । क्यान्सरका बिरामीहरूलाई नि यसले तर्साएको छ । कोभिड-१९ को जोखिमको डरले बिरामीहरू अस्पताल आउन डराएको अवस्था छ । तर जोखिमको डरले क्यान्सरको उपचार रोक्न हुँदैन । 

गत वर्ष गरेको गल्ती फेरि दोहोरिन दिनुहुँदैन । गत वर्ष कोभिड-१९ को पहिलो लहर चल्दा क्यान्सरका बिरामीको उपचारका सन्दर्भमा नेपालमा कुनै गाइडलाइन्स बनेको थिएन । त्यसैले नेपालले अमेरिकन गाइडलाइन्स नै पछ्यायो । जसले कोभिडको कहर चलुन्जेल अन्य रोगको उपचार ‘होल्ड’ भयो । उपचार होल्ड भएको छ भनेर क्यान्सर ‘होल्ड’ हुँदैन । क्यान्सर त उपचार नगरे बढ्छ । क्यान्सरले कसैलाई कुर्दैन । उपचार ‘होल्ड’ हुँदा क्यान्सरका बिरामीमा झनै नकारात्मक असर पुर्‍याउन थाल्यो ।


क्यान्सरको उपचारका किमोथेरापी, लगायत थुप्रै अन्य थेरापी वा उपचार गर्नुपर्ने हुन्छ । थेरापी गरेर मात्रै पुग्दैन । तीन महिना, छ महिना बिराएर फलोअपमा समेत आउनुपर्ने हुन्छ । बेलाबेला रगत जाँच्नुपर्छ, सिटिस्क्यान, लगायत थुप्रै टेस्टहरू गर्नुपर्ने हुन्छ । कतिपय बिरामीहरूको त अप्रेसन नै पनि गर्नुपर्ने हुन्छ । समयमा उपचार नपाउँदा थुप्रैको समस्या बढ्न थाल्यो । त्यसैले यो वर्ष हामीले क्यान्सरको उपचार नरोक्ने निर्णय गर्‍यौँ । 

हामीले पोहोरको घटनाबाट पाठ सिकेका छौँ । त्यसैले अहिले कुनै पनि हालतमा क्यान्सरका बिरामीको उपचार रोकेका छैनौँ । बरु अन्य रोगको संक्रमणको जोखिम कम गर्न अस्पतालको सरसफाइमा बढी ध्यान दिइरहेका छौँ ।

क्यान्सर मात्रै होइन, मधुमेह, रक्तचापसम्बन्धी समस्या भएका बिरामीले पनि कोभिड-१९ को महामारीका बेलामा आफ्नो उपचार रोक्न हुँदैन । किनकि यो दीर्घरोग हो । यसको उपचार प्रक्रिया लामो समय चल्छ । यी बिरामीको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ । उपचार रोकिएमा झनै ठूलो समस्या निम्तिने खतरा हुन्छ । अर्कोतिर किमोथेरापी लिइरहेका क्यान्सरका बिरामी, वृद्ध बिरामीहरू, रगतको क्यान्सर भएका बिरामीहरू, बोनम्यारो प्रत्यारोपण गरेका बिरामीहरूलाई कोभिड-१९ को संक्रमणको जोखिम उच्च हुन्छ । तर कोभिडको जोखिमको डरले क्यान्सर वा दीर्घरोगको उपचार भने रोक्न हुन्‍न । कोभिडको जोखिम कम गरी उपचार गर्नतर्फ ध्यान दिनुपर्छ । घरमा, बजारमा या अस्पताल आउँदा, नेपाल सरकारले कोभिड-१९ को संक्रमण फैलिन नदिन बनाएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।

क्यान्सर, मधुमेह, रक्तचापसम्बन्धी समस्या भएका बिरामीले पनि कोभिड-१९ को महामारीका बेलामा आफ्नो उपचार रोक्नु हुँदैन ।

बरु बिरामीले अन्कोलोजिस्टसँग आफ्नो क्यान्सर रोगको अवस्था र कोभिडको जोखिमका बीचमा किमोथेरापी जारी राख्ने वा रोक्ने वा ढिलाइ गर्ने भन्‍ने विषयमा छलफल गर्न सक्छन् । सल्लाहका लागि अस्पताल नै गइरहनुपर्दैन । फोन, इमेल लगायत विभिन्‍न माध्यमबाट सम्पर्क गर्न सकिन्छ ।

यदि क्यान्सरका बिरामीलाई कोभिड लागेको खण्डमा सुरुमा कोभिड नै निर्मूल पार्ने कोसिस गरिन्छ । किनकि, क्यान्सरको उपचारले बिरामीलाई कमजोर बनाइदिएको हुन्छ । रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । यस्तो बेलामा कोभिडको उपचार गरिएन भने झनै खतरनाक हुन्छ । त्यसैले कोभिड निको बनाएर मात्रै क्यान्सरको उपचारतर्फ अघि बढ्नुपर्छ । 

सरकारी अस्पतालहरूमा बेडहरूबीचको दूरी धेरै हुन्‍न । त्यस्तो अवस्थामा दूरी बढाउनु आवश्यक हुन्छ । त्यस्तै नेपालमा एकजना बिरामी भए, साथी पनि दुई/तीन जना जाने गर्छन् । भेट्न पनि जाने गरिन्छ । यसमा नियन्त्रण गर्नुपर्छ । बिरामीसँग पनि एक जना मात्रै अस्पताल जानुपर्छ । अस्पताल जाँदा डबल मास्क, फेस सिल्ड, पञ्जा सबै सुरक्षाको साधन लगाएर जानुपर्छ । 

अहिले क्यान्सरका बिरामीले कोभिडको भ्याक्सिन लगाउनुहुन्‍न भन्‍ने हल्ला पनि चलेको सुनिन्छ । तर यस्तो होइन । सबै क्यान्सर रोगका बिरामीलाई यो भ्याक्सिन दिन मिल्छ । संसारका संक्रमण रोग विशेषज्ञहरूका साथै क्यान्सर रोगविशेषज्ञहरू बसेर क्यान्सर रोगका बिरामीले कस्तो अवस्थामा भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग नगर्ने भन्‍ने विषयमा अमेरिकाको प्रतिष्ठित संक्रमण रोग र क्यान्सर रोगको दिशादिर्नेश गर्ने संस्था सीडीसी/एनसीसीएनले प्रारम्भिक गाइडलाइन प्रकाशित गरेको छ । यस गाइडलाइनका अनुसार कोभिड भ्याक्सिन सबै क्यान्सर रोगका बिरामी लगायत हाल एक्टिभ किमोथेरापी लिइरहेका बिरामीहरूलाई पनि दिन मिल्छ ।

यो भ्याक्सिनको प्रभावकारिता फरक-फरक छ । हामीजस्तो गरिब मुलुकका मान्छेले भ्याक्सिनको प्रभावकारिता ५० प्रतिशत मात्रै भए पनि हामीले लगाउनुपर्छ । दुई जनामा एक जना भए पनि बाँच्छ । कोभिडले शरीरमा एन्टिजेन उत्पन्‍न गर्छ । यी भ्याक्सिनले शरीरलाई एन्टिबडी बनाउँछ । यो भ्याक्सिन लगाएर केही सामान्य रियाक्सन देखिन सक्छ । तर यो सामान्य हो र क्षणिक हुन्छ । डराउनुपर्ने अवस्था छैन । 

सोलिड ट्युमर भएका बिरामीहरूले किमोथेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, रेडियो थेरापी लिइरहेका भए पनि भ्याक्सिन लिन मिल्छ । यदि मेजर शल्यक्रिया गर्नुपर्ने बिरामी भएमा भ्याक्सिन लगाएको दिन शल्यक्रिया नगर्ने, अन्य दिन गर्दा हुन्छ । रेडियोथेरापी लिइरहेका बिरामीको ४/५ दिनपछि भ्याक्सिन दिन मिल्छ । 

यदि बोनम्यारो प्रत्यारोपण गरेका बिरामीको सवालमा एलोजेनिक, अटोलोगस प्रत्यारोपण गरेका, वा सेलुलर थेपारी गरेका बिरामीहरूलाई कम्तीमा तीन महिनापछि मात्रै भ्याक्सिन दिन मिल्छ । अथवा सम्बिन्धित चिकित्सकसँग परामर्श लिएर तीन महिनापछि भ्याक्सिन लगाउन मिल्छ । 

त्यस्तै रक्त क्यान्सर भएका बिरामीले पनि भ्याक्सिन दिन मिल्छ । यदि इन्टेन्सिभ क्यान्सर किमोथेरापी लिइरहेका बिरामीले सामान्य भएपछि मात्र खोप लगाउन मिल्छ । भ्याक्सिन लिएको दिन उपचार नगरे हुन्छ, अरु दिन उपचार गर्न मिल्छ । त्यसैले कोभिडको डरले क्यान्सरको उपचार रोक्न हुन्‍न । (सुनीता साखकर्मीसँगको कुराकानीमा)

 


Author

डा. अरुण शाही

(शाही क्यान्सर रोग विशेषज्ञ, मेडिकल अकोलोजिस्ट/पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान)


थप समाचार
x