स्वास्थ्य

अक्सिजन सिलिन्‍डरमा पनि सरकारको राजनीति : व्यवसायीको सामान सरकारको भन्‍दै प्रचार

इकागज |
जेठ ३, २०७८ सोमबार ११:१८ बजे

तातोपानी नाका । फाइल तस्बिर

काठमाडौँ : अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएपछि सरकारले चीनबाट अनुदानमा पाएका अक्सिजन सिलिण्डर, लिक्‍विड अक्सिजन, कन्सन्ट्रेटरलगायतका सामाग्री आइपुग्‍न अझै केही दिन लाग्‍ने भएको छ । उपप्रधानमन्त्री एवं कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेलाई उद्धृत गर्दै आइतबार १८ हजार  सिलिण्डर तातोपानी आइपुगेको भन्दै राष्ट्रिय समाचार समितिले समाचार सम्प्रेषण गरेको थियो ।

यद्यपि, ति सिलिण्डर व्यापारीले ल्याएको खुलेपछि सरकारले गलत सूचना सम्प्रेषण गराएको भन्दै आलोचना भइरहेको छ । अहिले मुलुकमा अक्सिजन अभावमा कोभिड-१९ संक्रमितहरूको उपचारमा समस्या भएको छ भने नियमित उपचारमा अक्सिजन चाहिनेलाई समेत समस्या भएको छ । जसका कारण धेरैले  ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा सरकारले चीन सरकारको आपतकालिन अनुदानमा उक्त  सिलिण्डर नेपाल ल्याउन लागेको दाबी गरेको छ । यद्यपि, उक्त  सिलिण्डर ढुवानीमा संलग्‍नहरूले भने ति सामाग्री सरकारको नभइ व्यापारीले बिक्रि गर्न ल्याउन लागेको बताएका छन् ।


उक्त  सिलिण्डरको ढुवानी सिल्क ट्रान्सपोर्टले कम्पनीमार्फत् भएको हो । सिल्कका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले उक्त  सिलिण्डर व्यापारिक प्रायोजनको लागि व्यवसायीहरूले ल्याएको दाबी गरेका छन् । ‘यो सामान व्यापारीहरू मिलेर ल्याएका हुन् । कुन व्यापारीले ल्यायो भन्‍ने हामीले खुलाउन मिल्दैन,’ शेर्पाले इकागजसँग भने ।

आफूहरूले ढुवानी मात्रै गरेको शेर्पाले बताए । अक्सिजनको  सिलिण्डर ढुवानीका लागि सरकारले आफूहरूसँग कुनै कुराकानी नगरेको शेर्पाको भनाई छ । चीन सरकारले आपतकालीन अनुदानमा पठाएको सामाग्री भने तिब्बतको न्यालोममा रहेको बताइएको छ ।

‘हामीले चीनबाटै ढुवानी गरेर ल्याएका हौं,’ शेर्पाले भने, ‘निजी कम्पनीहरूको अनुरोधमा ढुवानी गरेर ल्याएका हौं । मलाई सरकारी प्रतिनिधिले काम दिएका होइनन् । व्यापारीले ल्याएर सरकारलाई पनि बेच्‍न सक्छन् । ढुक्क हुनुस् यो सामान व्यापारीले ल्याएका हुन् ।’

चीन सरकारले आपतकालीन अनुदानको अक्सिजन  सिलिण्डर सरकारले ल्याएको भन्दै आइतबार प्रचार गराइएको थियो । उपप्रधानमन्त्री ईश्वर पाखेरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चीन सरकारले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुगेको भन्दै गलत प्रचार गरेका थिए । भन्सार नभइसकेको कारण उक्त सामान कसले ल्याएको प्रज्ञापनपत्र नहेरी भन्‍न नसकिने तातोपानी भन्सारले जनाएको छ ।
 


Author

थप समाचार
x