स्वास्थ्य

कोभिड-१९ को तेस्रो भेरियन्ट बेलायतकोभन्दा ५० प्रतिशत बढी संक्रामक

२० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण

इकागज |
जेठ ५, २०७८ बुधबार १७:४० बजे

काठमाडौँ :  इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड –१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए । 

‘प्रारम्भिक अध्ययनहरूले नयाँ भेरियन्‍ट सर्ने दर उच्च छ । नेपालमा संक्रमण बढेको, भारतमा पनि बढेको देख्‍दा निष्कर्षमा पुग्न सक्छौँ । यो अलि बढी संक्रामक छ ।उनले भने, 'बेलायतको मेडिकल जर्नलमा एउटा ब्लगमा उहाँहरूले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ भनेर आँकलन गरिएको छ । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष समूहमा उच्च दरमा संक्रमण छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी असर गर्छ । जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने देखिन्छ ।’


डा. पौडेलले हाल कोभिडविरुद्ध लगाइको कोभिशिल्ड खोपले यस भेरियन्टको जटिलता कम गर्न र मृत्युदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले भने, ‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी/प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारीता राम्रै देखिएको छ ।’

उनले सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने बताए ।

नेपालमा गतहप्ता कोभिड-१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि  मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । 


Author

थप समाचार
x