स्वास्थ्य

वीर अस्पतालमा भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालन

इकागज |
साउन ९, २०८० मंगलबार १५:१० बजे

काठमाडौँ- वीर अस्पतालले विशिष्ट व्यक्तिहरूका लागि आवश्यक सुविधासहित थप भिआईपी र भिभिआईपी उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।

वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआईपी र भिभिआईपीका लागि दुई शैया छुट्याइएकोमा अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैयासहितको सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । वीर अस्पतालमा सञ्चालनमा आएको भिआईपी र भिभिआईपी उपचार कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण गरेका थिए ।


स्वास्थ्य मन्त्री बस्नेतले भिआईपी र भिभिआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआईपी र भिभिआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए । मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए ।

त्यस्तै उनले वीरमा बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी देखिएको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको जानकारी दिए ।

वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विशिष्ट व्यक्ति उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहित किचेन समेतको सुविधा छ । 


Author

थप समाचार
x