स्वास्थ्य

भरतपुरका अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन

इकागज |
साउन ९, २०८० मंगलबार १५:१३ बजे

फाइल फोटो

चितवन - भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ । 

भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन, भरतपुर अस्पताल र नारायणी सामुदायिक अस्पतालका क्यान्टिनको अनुगमन गरिएको खनालले जानकारी दिए । 


भरतपुर महानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख थानेश्वर सापकोटाले भरतपुर महानगरपालिकाले १३ होटल तथा किराना पसलमा अनुगमन गरेको बताए । उनले प्रारम्भिक चरणमा जरिवाना तिराएर सचेत गराइएको उल्लेख गर्दै पुनः सोही अवस्था दोहोरिए बन्द गर्ने चेतावनी दिए । 

अनुगमन गरेकामध्ये अधिकांशमा म्याद सकिएका सामान र होटलहरुले सरसफाइमा ध्यान नदिएको भेटिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णुबहादुर भुजेलले जानकारी दिए । 

उनका अनुसार पाँच वटा होटलमा ताला लगाइएको छ । पुरानो मेडिकल कलेजभित्रका दुई, पुरानो मेडिकल अगाडिको सयपत्री खाजा घर, एभरेष्ट मःम ल्यान्ड र नारायणी सामुदायिक अस्पतालको क्यान्टिन बन्द गराइएको उनले बताए । 

सरसफाइमा ध्यान नदिएको, अस्पताल अगाडि चुरोट, गुट्कालगायतको सामान बेचेको तथा दर्ता नगरेको कारण बन्द गराइएको हो । त्यसैगरी हाकिमचोकमा रहेको आरसी किराना पसलसमेत बन्द गराइएको छ । त्यहाँ म्याद सकिएका खाद्य वस्तु थिए । अखाद्य वस्तुलाई महानगरले जफत गरेर नष्ट गरेको छ । रासस


Author

थप समाचार
x