डाक्टरका कुरा
जलिएला है आगो ताप्दा
गर्मी महिनाको तुलनामा जाडो महिनामा जलनका केसहरु धेरै आउने गरेका छन् । जाडो सुरु भएसँगै मानिसहरु चुलो वा मकलमा आगो बालेर ताप्ने गर्दछन् । आगो ताप्दा जोखिम हुनसक्छ भनेर धेरैले सोचेका हुँदैनन् । तर, जाडोमा जलनका केसहरु मध्ये ८० प्रतिशत आगो ताप्ने क्रममा जलेका व्यक्तिहरु उपचारको लागि आउने गदर्छन् ।
जोखिममा महिला र बालबालिका
आगोका कारण धेरै जोखिममा पर्ने समूह भनेको महिला र बालबालिका हुन् । बच्चालाई आगोको बारेमा थाहा हुँदैन । खेल्दाखेल्दै आगो समात्न पुग्दा उनीहरु दुर्घटनामा पर्न सक्छन् । त्यस्तै महिलाको हकमा भने उनीहरुले लगाउने कपडा जलनको कारण बन्न सक्छ । साडी वा कुर्ता लगाएर आगो ताप्न बस्दा जलनका घटना हुन्छन् । विशेषगरी साडी वा ओड्ने (सल) लाई आगोले भेटेर गम्भीर घाइते भएको पनि पाइएको छ ।
आगो ताप्दा धेरैले पछाडि फर्किएर ताप्छन् । यस्तो बेलामा थाहै नपाई सल वा साडीको टुप्पोले आगो समातिसकेको हुन्छ । सिल्क वा नाइलनको साडीले एकदमै छिटो आगो टिप्छ । आगो निभाउने कोसिस गर्दागर्दै पनि तुरुन्तै फैलिन्छ । धेरैले आगोले भेटेपछि लुगा निकाल्नै भ्याउँदैनन् ।
महिलाहरुमा पनि ५० वर्ष कटेकाहरुमा धेरै आगोले जल्ने समस्या देखिएको छ । त्यस्तै मोटोपना भएका व्यक्तिहरु पनि जोखिममा पर्ने गर्दछन् । उनीहरु हत्तपत्त जरकमरक गर्न र चलमलाउन नसक्ने खालका हुन्छन् । यस्ता व्यक्तिले कसैलाई बोलाएर सहयोग माग्ने बेलासम्म आगोले आफ्नो काम सकिसकेको हुन्छ । त्यसैले आगो ताप्दा लुगामा एकदमै ध्यान दिनुपर्छ । आगोलाई आफूबाट अलि टाढा राखेर ताप्नुपर्छ । विशेषगरि आगो बालेर पछडिबाट ढाड सेक्ने काम गर्नु हुँदैन ।
यस्ता जलनका केसहरु उपत्यकाभन्दा पनि उपत्यका बहिरबाट धेरै आउँछन् । त्यसमा पनि तराइका जिल्लाहरुबाट धेरै आउने गरेको छन् । त्यस्तै पहाडतिरबाट पनि जाडो लागेसँगै यस्ता केसहरु आउँछन् । यसकारण पनि जाडोमा आगो ताप्ने बेलामा धेरै केरामा ध्यान पुर्याउनुपर्छ ।
सुत्केरीले विशेष ध्यान पुर्याऔँ
सुत्केरी हुँदा धेरैले आगो बालेर सेक्छन् । कोठा ताउनुपर्यो, बच्चा र आमालाई तेल घस्नुपर्यो भनेर आगो बाल्ने र ताप्ने चलन छ । यो चलन गाँउसँगै सहरतिर पनि छ । यस्तो बेलामा धेरै सुत्केरी महिला आगोका कारण दुर्घटनामा पर्न सक्छन् । उनीहरुले पनि विशेष ध्यान दिनुपर्छ ।
के गर्ने आगोले पोलेमा ?
-सुरुमा आगो निभाउने कोसिस गर्ने ।
-हातले भ्याउँछ भने हातले निभाउने कोसिस गर्ने, हातले भ्याउँदैन टाबेल वा बाक्लो कपडाले छोपेर आगो निभाउने ।
-आगो निभेपछि शरीरमा टासिएको कपडा निकाल्ने ।
-जलेको भागमा निरन्तर २० देखि २५ मिनेटसम्म चिसो पानी खन्याउने ।
-चिसो भनेको फ्रिजको पानी होइन, सामान्य धाराको पानी हो ।
-लगातार पानी खन्याउँदा आगोले पोलेको घाउलाई भित्रसम्म जान दिँदैन ।
-पानी खनाउने सम्भव नभएको खण्डमा कपडालाई चिसो बनाएर घाउमा छोपिदिनुपर्छ ।
-घरमा यति गरिसकेपछि भने तुरुन्तै अस्पताल लैजानुपर्छ ।
(प्लास्टिक सर्जन शाक्यसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया