स्वास्थ्य

भिआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गएर गरे सरकारले खर्च बेहोर्दैन : स्वास्थ्यमन्त्री

इकागज |
साउन १२, २०८० शुक्रबार १८:४६ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नबेहोर्ने बताएका छन् ।

शुक्रबार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले बेहोर्नुपर्ने बताएका हुन् । उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको जिकिर गरे । उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरू रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए ।


अहिले पनि विदेशी चिकित्सकहरू नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे । उनले गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत शय्या सबै अस्पतालमा लागू भएको बताए । मन्त्री बस्नेतले गरिब, विपन्न, असहाय र बेवारिस बिरामीहरूले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड नि:शुल्क भइसकेको जानकारी दिए ।

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

यसै वर्ष सघन उपचारको क्षमता विस्तार गरेर एक सय बेडमा पुर्याइने लक्ष्य लिएको वीर अस्पताल १५ शय्याबाट सुरु भएको हो ।


Author

थप समाचार
x