स्वास्थ्य

पैसाको अभावमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन, त्यसको ग्यारेण्टी म लिन्छु : मन्त्री बस्नेत

इकागज |
साउन १५, २०८० सोमबार १६:१ बजे

धुलिखेल - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था हुनु नहुने बताएका छन् । दोस्रो आधारभूत जीवन रक्षा दिवस (बेसिक लाइफ सपोर्ट डे) को अवसरमा धुलिखेल अस्पतालले सोमबार धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले पैसा नभएका कारण उपचार नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था नभएको बताएका हुन । मन्त्री बस्नेतले भने,‘ स्वास्थ्य मन्त्रीका हैसियतले त्यसको ग्यारेन्टी मैले लिन्छु ।’ 

बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि देश भरिका १६ वटै संघीय अस्पतालहरूका ३ हजार ५ सय २३ शैया विपन्नका लागि निःशुल्क गरेको बताउँदै सम्पूर्ण निजी अस्पतालहरूले १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क गर्ने कानुनी प्रावधानलाई कडाइका साथ लागु गराएकोले विरामीको उपचारमा धेरै हदसम्म सहज भएको दावी गरे । 


दुई वर्षभित्र सबै नेपालीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र पाँच वर्ष भित्र हरेक प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न सक्ने आधारस्तम्भ तयार पार्न आफू लागेको बताउदै स्वास्थ्यमा कुरा भन्दा काम गर्दै अगाडि बढेको जानकारी दिए । 

सानोतिनो रोगको उपचारका लागि भिआईपी र भिभिआईपीहरु विदेश जाने र करोडौं राज्यकोषको खर्च हुने गरेको जन गुनासो प्रति इंगित गर्दै बस्नेतले भिआईपी र भिभिआईपीका लागि पनि वीर अस्पताल पाँच शैयाको कक्ष निर्माण गरेर १५ जना विशेषज्ञ चिकित्सकको टिम बनाइदिएको बताए । 

वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेपछि उपचारका लागि वीर जाने बिरामीको संख्या ४० प्रतिशतले बढेको पाइएको बस्नेतको दावी छ । धुलिखेल अस्पतालले नेपालीको स्वास्थ्य उपचारमा गरेको योगदानको प्रशंसा गर्दै मन्त्री बस्नेतले धुलिखेल अस्पतालले निकट भविष्यमा निर्माण गर्न लागेको  ट्रमा सेन्टर बनाउन स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । 

आधारभूत जीवन रक्षाको कार्यक्रमको महत्व जहाँ पनि जहिले पनि रहेको बताउँदै यसलाई देशभरि पुर्याउनु पर्ने आवश्यकतामाथि बस्नेतले जोड दिए । कार्यक्रममा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक एवं काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. रामकण्ठ मकाजूले नेपालीले चाह्यो भने नहुने कुरा केही पनि नभएको बताउँदै आफूहरूले २६ वर्ष पहिले धुलिखेलमा गुणस्तरीय उपचार दिने अस्पताल स्थापना गर्ने सपना पुरा भएको बताउँदै त्यसको लागि लगाव भने हुनु पर्नेमा जोड दिए । 

बस्नेतलाई आफूले कुराभन्दा काम गर्ने स्वास्थ्य मन्त्रीका रुपमा पाएको स्मरण गर्दे आत्मादेखि नै जनताको पक्षमा गरेका कामले सधै सफलता पाइने बताए । कार्यक्रममा एनेस्थेसिया विभाग प्रमुख डा. संगीना रंजितले आधारभूत जीवन रक्षाको सिप स्वास्थ्यकर्मीका लागि मात्र नभएर सबैका लागि आवश्यक भएको बताइन् । 


Author

थप समाचार
x