स्वास्थ्य

गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरूमा यस वर्ष संक्रमण धेरै

इकागज |
साउन २२, २०८० सोमबार १७:२२ बजे

काठमाडौँ- ​इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरूमा यस वर्ष संक्रमण धेरै देखिएको जनाएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेंगी संक्रमणको महामारी निश्चित स्थानमा दुई–तीन वर्षमा दोहरिने देखिएको बताए । ७७ वटै जिल्लामा डेंगीको भाइरस रहेकाले कुनै पनि बेला कुनै पनि स्थानमा डेंगीले महामारीकाे रूप लिन सक्ने उनले बताए ।


गत वर्ष काठमाडौँ उपत्यका, हेटौंडा, चितवनमा डेंगीले महामारीको रूप लिएको थियो । यसपटक धरानमा सबैभन्दा धेरै संख्यामा डेंगी संक्रमण देखिएको छ । साथै उनले वर्षौंसम्म डेंगी संक्रमण देखिरहन सक्ने चुनौती रहेको पनि उल्लेख गरे । उनले ‘डेंगी नियन्त्रणः खोज र नष्ट गर अभियान’मा स्थानीय तहको जिम्मेवारी बढी रहेको बताए ।

त्यस्तै  सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेंगी नियन्त्रणमा ‘टायर हटाउ तथा लुकाउ’ अभियान गरी लामखुट्टे बस्ने र विकास हुने ठाउँमा सफाइ गर्नुपर्ने बताए ।

विसं २०६१ मा पहिलो पटक डेंगीका बिरामी देखा परेपछि प्रत्येक वर्ष क्रमशः यस्ता सङ्क्रमित बढ्दै गएको उनको भनाइ छ । नेपालमा सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगी सङ्क्रमित पुष्टि भएका थिए । 


Author

थप समाचार
x