स्वास्थ्य

सुनसरीमा दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

इकागज |
साउन २२, २०८० सोमबार १९:४२ बजे

फाइल तस्बिर

सुनसरी- सुनसरीमा सोमबारबाट दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिनाअघि महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीबाट खोप अभियान सुरु गरिएको हो ।

सोमबारबाट सुनसरीका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहमा अभियान सुरु भएको बताइएको छ । धरान उपमहानगरपालिकामा भने डेंगी महामारी फैलिएकाले खोप अभियान तत्काल सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंले बताए ।


बर्जु गाउँपालिकामा गत फागुन महिनामा महामारीका रूपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएको थियो । देवानगन्ज गाउँपालिकामा साउन २८ गतेदेखि मात्र खोप लगाइने तयारी रहेको छ ।

एक सातासम्म चल्ने अभियानमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ । सरकारले सन् २०२३ अर्थात् यसै वर्षभित्र नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । 


Author

थप समाचार
x