अघिल्लाे वर्षभन्दा घातक बन्दै डेंगी, देशैभर प्रकाेप
काठमाडौँ– सामान्य स्वास्थ्य अवस्थामा रहेका उनलाई असारको पहिलो साता एक्कासि ज्वरो आयो । उनले ज्वरोलाई सामान्य रूपमा लिए । अनि, दिनभर घरमै सुते ।
भोलिपल्ट सहनै नसक्ने गरी जिउ दुख्यो । अनि बल्ल अस्पताल गए कास्कीका अमित विक । बिहान त पूरै ज्यान दुखेर हैरान भए,’ उनले भने, ‘अनि हस्पिटल गए । चेक अप गर्दा डेंगी देखियो ।’
अस्पतालमा ३ दिन बसे विक । त्यसपछि घर फर्के । उनलाई आठौँ दिनमा ठीक भयो । ‘त्यो पछि पनि २/३ दिनपछि बल्ल बाहिर हिँड्न थालेँ,’ उनले भने । डेंगी हुँदा शरीर पूरै दुख्ने, ज्वरो आउने भएको संक्रमित अमितले बताए । डाक्टरको सल्लाह अनुसार औषधी खाएमा निको हुने भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको उनले अनुभव सुनाए । एक हप्तासम्म आफूलाई निकै अप्ठेरो भएकाले डेंगीबाट बच्न उनको सुझाव छ ।
‘निकै गाह्रो भयो त्यो समय बिताउन,’ उनी भन्छन्, ‘यो संक्रमण शत्रुलाई पनि नलागोस् ।’ उनले शरीर आलस्य हुने, दुख्ने र खानेकुरा खान मन नलाग्ने अनुभव सुनाए ।
पछिल्लो समय देशभर फैलिएको डेंगीबाट संक्रमण भएका विक एक उदाहरण मात्रै हुन् ।
आयातित रोगका रूपमा सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगी संक्रमणले अहिले प्रकोपको रुप लिएको छ ।
सुरुमा छिटपुट देखिएको संक्रमण सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो । त्यतिबेला सबैभन्दा धेरै संक्रमण चितवनमा भेटिएको थियो । हालसम्म ७४ जिल्लामा डेंगीका संक्रमित देखा परेका छन् । चालु आवमा देशभरमा गरी आठ जनाको मृत्यु भइसकेको छ । यसले थप भयावह लिनसक्ने स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।
डेंगी संक्रमण सन् २०२२ मा ५४, ७८४ जनामा देखा परेको थियो । त्यो वर्ष ८८ जनाको ज्यान गएको थियो । वाग्मती प्रदेशमा सबैभन्दा धेरै देखिएको डेंगी पोहोर साल बागमतीमा देखिएका झन्डै साढे ४२ हजार संक्रमणमध्ये ७० प्रतिशतभन्दा बढी काठमाण्डू, ललितपुर र भक्तपुरमा अभिलेख गरिएको थियो ।
यो वर्ष झन्–झन् बढ्दैछ । स्वास्थ्य मन्त्रालयले यो वर्ष डेंगी संक्रमण व्यापक रूपमा फैलन सक्ने सम्भावना रहेकाले सावधानी अपनाइनुपर्ने बताएको छ । यो वर्ष सबै जिल्लामा यो संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ ।
अघिल्लो वर्ष ६६ जिल्लामा डेंगी संक्रमण फैलिएको थियो । यो वर्षको अगस्ट र सेप्टेम्बरमा संक्रमण अझै उच्च विन्दुमा पुग्ने र त्यसपछि बिस्तारै कम हुँदै जाने आँकलन मन्त्रालयको छ ।
चार वटा सम्बन्धित भाइरसहरूका कारण लाग्ने डेंगी एउटै मानिसलाई आफ्नो जीवनकालमा एकभन्दा धेरै पटक पनि लाग्नसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
कोशीका १३ जिल्लामा डेंगी, धरान बन्यो ‘हटस्पट’
कोशी प्रदेशमा डेंगी संक्रमणको अवस्था भयावह बनेको छ । कोशी प्रदेशको सोलुखुम्बुबाहेक १३ जिल्लामा डेंगी फैलिएको छ । सुनसरीमा संक्रमितको कुल संख्याभन्दा धेरै बिरामी छन् । डेंगी ‘हटस्पट’ धरान बनेको छ ।
कोशी प्रदेश भरी ६ हजार बढी मानिसहरू डेंगीबाट संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । सुनसरीमा हालसम्म ८ जनाको मृत्यु भइसकेको निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
सुनसरीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । करिब पाँच हजारको हाराहारीमा यहाँ संक्रमित छन् । सुनसरीपछि दोस्रो धेरै संक्रमित भएको जिल्ला मोरङ रहेको छ । साताअघिसम्म सातवटा जिल्लामा मात्रै देखिएको डेंगी अहिले १३ जिल्लामा फैलिएको छ । सोलुखुम्बुमा हालसम्म संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । बाँकी जिल्लामा भने संक्रमितको संख्या एक सय भन्दा तल रहे पनि संक्रमण बिस्तारै बढ्दै गएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयत अन्तरगतको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभरका डेंगी बढी प्रभावित १० जिल्लाहरू मध्ये कोशी प्रदेशका मात्रै चारवटा जिल्लाहरू सुनसरी, मोरङ, झापा र धनकुटा रहेका छन् ।
सरकारले डेंगी रोग फैलिन नदिन ठोस योजना बनाएर अघि नबढ्न नसक्दा संक्रमण रोकिने अवस्था छैन । डेंगी संक्रमण न्यूनीकरणका लागि भन्दै अहिले धेरै स्थानीय तहले सामुदायिक संस्था र विद्यालयहरू मार्फत सचेतनामूलक अभियानहरू संचालित छन् ।
डेंगी रोग ‘टाइगर मस्क्यूटो’ को नामले चिनिने एसिड एजिप्टाई/एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टको टोकाईबाट मात्रै एक व्यक्तिबाट अर्कोमा सर्ने कीटजन्य रोग हो ।
घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी लगायतका फोहोर स्थान हटाएर यो लामखुट्टेको लार्भा नष्ट गर्न सकिने र संक्रमण पनि घटाउन मद्दत पुग्ने भन्दै स्थानीय तहरूले ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान अघि बढाउँदै लगेको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिए ।
उनले हालसम्म धरानका २० वटै वडामा डेंगी देखिएको बताए । परीक्षणका लागि आएका मध्ये ७८ प्रतिशतमा डेंगी पुष्टि भएको मेहताले बताए । धरानमा जनस्वास्थ्यविदहरूले सचेत गराएको दुई महिनापछि मात्रै ‘सर्च एण्ड डिस्ट्रोई’ अभियान सुरु गरेको जनाइएको छ ।
धरानमा देखिएको उच्च संक्रमण र बिरामीहरूको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालित ३० बेडको डेंगी वार्डमा बिरामी अटेका छैनन् । संक्रमितको संख्या वृद्धि हुँदा प्रतिष्ठानमा चाप थेग्न मुस्किल बनेको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलले बताए ।
प्रतिष्ठानको इमर्जेन्सी वार्ड र डेंगी वार्डमा बिरामी भरिएपछि धरान उपमहानगरपालिकाले छाताचोकस्थित अस्पताल र धरान सभागृहमा समेत डेंगी परीक्षणको सेवा विस्तार गरेको जनाइएको छ । वडास्थित स्वास्थ्य संस्थाहरूले समेत आफैंले वेडहरू व्यवस्था गरेर संक्रमितहरूको उपचारको सेवा सुरु गरेको उपमहानगरपालिकाका प्रवक्ता मनोज भट्टराईले जानकारी दिए । उनले हालसम्म धरानमा मात्रै डेंगी संक्रमित भएका ८ जनाको मृत्यु भइसकेकोले सरकारले परीक्षण र उपचारमा थप आपतकालिन सहयोग गर्नुपर्नेमा उनले बताए ।
उपमहानगरपालिकाले बिहीबार साँझसम्मको तथ्यांक अनुसार धरानमा ४ हजार ९०० को परीक्षण हुँदा दुई हजार ९९४ को रिपोर्ट पोजेटिभ आएको थियो । प्रवक्ता भट्टराईले बीपी प्रतिष्ठानसहित उपमहानगरपालिकाभित्रका अरु अस्पतालमा समेत डेंगीका बिरामीको चाप बढिरहेको जानकारी दिए ।
मधेशको अवस्था सामान्य, तर सावधानी जरुरी
मधेश प्रदेशमा डेंगीको प्रकोप बिस्तारै फैलँदै गए पनि अवस्था सामान्य नै छ ।
मधेश प्रदेशमा अहिलेसम्म ३२ जना व्यक्तिमा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक राजीव झाले प्रदेशमा डेंगी संक्रमण छिटफुट रूपमा मात्र देखिएको जनाएको छ ।
उनका अनुसार ३२ जना संक्रमितमध्ये सबभन्दा बढी सिरहा जिल्लामा ७, पर्सामा ६ र अन्य जिल्लामा २/३ जनाको हाराहारीमा रहेको छ ।
सिरहामा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहकै घरका ४ जनालाई डेंगी रोग लोगेको छ । उनका बुहारी रागिनी साहसहित ४ जना बिरामी छन् । त्यसैगरी वडा नंं. ४ कै रविन्द्रकुमार महतो र अर्का एक परिवारमा २ जनामा देखा डेंगी देखापरेको हो ।
गोलबजार नगरपालिका नगर स्वास्थ्य शाखाका संयोजक पवनकुमार पञ्जियारले मेयरका परिवारसहित नगरक्षेत्रभित्र ७ जनामा डेंगीको रोग देखिएको बताए । ‘उनीहरूको धरान, विराटनगर र काठमाडौँमा उपचार भइरहेको सूचना आएको छु,’ उनले भने ।
निर्देशक झाले भने अहिले भयभित हुने खालको अवस्था नभएको बताए । ‘तर पनि सावधानी अपनाउन जरुरी छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयहरूमार्फत प्रदेश सरकारको सहयोगमा यस प्रदेशका हरेक पालिकास्तरसम्ममा सचेतना अभियान सञ्चालन गरिएको छ ।’
बाग्मतीमा संक्रमण रोक्न सवा तीन करोड बजेट
डेंगी संक्रमण पछिल्लो साता वागमती प्रदेशमा बढ्दो अवस्थामा रहेको प्रदेश स्तरीय तथ्याङ्कले देखाएको छ । चालु आवमा डेंगीलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको सूचना अधिकारी भुसालले बताए । गत आवमा महामारीजन्य रोग नियन्त्रणका लागि एक करोड १४ लाख ३० हजार बजेट विनियोजन भएकोमा ९३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
सात महिनाको अवधिमा डेंगी संक्रमणका कारण सबैभन्दा धेरै बागमती प्रदेशको धादिङ जिल्लामा देखिएको छ । यद्यपि प्रदेशका १३ वटै जिल्लामा डेंगी संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसको लागि संक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताए ।
गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेंगी रोग संक्रमणको उच्च जोखिम देखिएको छ । साउन दोस्रो हप्तासम्म आइपुग्दा संक्रमण भएका बिरामीको सङ्ख्या पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रूप लिने देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग संक्रमण भएको छ ।
साउन महिनामा यो संक्रमणको दर झनै बढेको देखिन्छ । 'साउन दोस्रो सातासम्मै संक्रमणको दर बढ्नु चिन्ताको विषय हो,' मन्त्रालयका सूचना अधिकारी भुसालले भने, 'पिक समय आउँदै छ, हरेक वर्ष भदौ, असोज र कात्तिक महिनामा संक्रमण दर अझै बढ्छ ।'
संक्रमण बढेपछि धादिङ अस्पतालमा यसको उपचारका लागि पाँच सैयाको व्यवस्था गरिएको छ । धादिङमा संक्रमण बढ्दै गएपछि बिरामीको उपचारका लागि शय्या थप गरिने सूचना अधिकारी भुसालले बताए । जनवरीबाट धादिङमा ५७६ जनामा संक्रमण भएको थियो ।
गण्डकीको कास्कीमा धेरै, मनाङमा शून्य
पछिल्लो समय नेपालमा डेंगीको संक्रमण बढ्दो छ । अत्यधिक मात्रामा लामखुट्टे पाइने मौसम भएकाले यो रोग फैलँदो क्रममा छ । गण्डकी प्रदेशमा पनि डेंगी संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकीमा वैशाखदेखि यता ३ सय ४२ जना डेंगीबाट संक्रमित भएका छन् ।
गण्डकीको हिमाली जिल्ला मनाङमा पनि एक जना संक्रमित भेटिएको निर्देशनालयका सूचना अधिकारी डा. नारायण श्रेष्ठले बताए । ११ जिल्ला रहेको गण्डकीका १० वटा जिल्लामा यसको संक्रमण बढ्दो क्रममा रहेको उनले बताए ।
सबैभन्दा बढी कास्कीमा यसको संक्रमित देखिएको छ । कास्कीमा २ सय १६ जनामा संक्रमण भएको छ । त्यसपछि म्याग्दीमा ३२ जनामा डेंगी देखिएको छ । गोरखामा २४, लमजुङमा २५, तनुहँमा २३, नवलपुरमा १२, स्याङ्जा र बाग्लुङमा ४/४ तथा पर्वतमा १ जनालाई यो रोगबाट लागेको छ ।
गण्डकी प्रदेशमा दिनानुदिन डेंगी संक्रमित बढिरहेको उनले बताए । उनले भने, ‘गर्मी र वर्षातमा संक्रमण बढी देखिने गरेको छ, असोजसम्म बढी जोखिम हुन्छ ।’ यो नियन्त्रण र उपचारका लागि निर्देशनालयले योजना बनाएर काम गरिरहेको उनले सुनाए । अरु प्रदेशमा भन्दा गण्डकीमा केही मात्रामा कम देखिए पनि सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो ।
जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गरिरहेको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका उनले बताए ।
लुम्बिनीमा झन्–झन् फैलँदै
लुम्बिनी प्रदेशमा डेंगी झन् झन् बढ्ने क्रममा रहेको छ । बिरामीहरू डेंगीले सिकिस्तै भएपछि मात्र उपचारका लागि अस्पताल पुग्ने धेरै छन् ।
यो प्रदेशमा चालु आर्थिक वर्षमा मात्रै संक्रमितको संख्या झण्डै ६ हजार पुग्न लागिसकेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य निरीक्षक खिमलाल पाण्डेले जानकारी दिए । उनका अनुसार लुम्बिनीका रुपन्देहीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । त्यस्तै गुल्मी, अर्घाखाँची, दाङमा पनि संक्रमित बढ्दो रहेको पाइएको छ ।
डेंगी संक्रमणका बिरामी उपचारका लागि जाने गरेका छन् । कतिपय बिरामीले घरमा आफूभन्दा पहिला अरूलाई पनि डेंगी भएको बताउने गरेका छन् । ‘अरूलाई पनि ज्वरो आएको छ, ज्यान दुखेको छ भन्दै उपचारमा आउने पनि छन्’, उनले भने ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७६–७७ मा तीन हजार ९४, २०७६–७७ मा ८५ जनाका यो रोगको संक्रमण देखिएको थियो । त्यस्तै २०७८–७९ मा जम्मा तीन सय २२ मा देखिएको संक्रमण चालु आर्थिक वर्षमा ह्वात्तै बढेको हो ।
सुदूरपश्चिममा भारतबाट फर्किएकाहरू धेरै संक्रमित
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांशहरूमा डेंगी देखिएको छ । पछिल्लो समय भारतबाट फर्किएका ७ जनामा डेंगी संक्रमण रहेको पाइएको थियो । स्वास्थ्य कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र जोशीपुर गाउँपालिकामा ७ जनामा डेंगीको संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वासका २ जना र दार्चुलाका एक जना डेंगी संक्रमित पनि धनगढीमा उपचार गरेर फर्किएका थिए । स्वास्थ्य कार्यालय कैलालीले डेंगीको संक्रमण थप फैलिन नदिन ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहेको छ ।
सुदूरपश्चिममा स्थानीय तहमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमार्फत सचेतनामूलक सन्देश प्रवाह गर्ने काम गर्दै लार्भा नष्ट गरिरहेको छ । सफा पानी जमेको भाँडो, टायर तथा खाडलमा लामखुट्टेको लार्भा हुने भएकाले आफ्नो घर तथा आँगन वरपर त्यसरी पानी जमेको पाइएमा तत्काल नष्ट गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
कर्णालीमा डेंगी यस वर्ष नियन्त्रणमा आएको दाबी
कर्णालीका सुर्खेत, कालीकोट, दैलेख, सल्यानमा र रुकुम पश्चिममा डेंगीको संक्रमण फैलने क्रममा छ । अघिल्ला वर्षहरूमा संक्रमण फैलिएको डेंगी यस वर्ष भने नियन्त्रणमा आएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
अन्य प्रदेशहरूमा डेंगीबाट बढी प्रभावित भएको भए पनि कर्णालीमा भने यसबाट कम प्रभाव परेको स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रमुख रविन खड्काले जानकारी दिए । ‘अन्य प्रदेशमा डेंगीबाट प्रभावित भइरहेको बेला कर्णालीमा यसले त्यति प्रभाव परेको छैन’ खड्काले भने, ‘कर्णालीका १० जिल्ला तथा पालिकाहरूबाट यसको तथ्यांक संकलन गर्दै छौ । अहिलेसम्म यसबाट खासै प्रभावित भएको पाइएको छैन ।’
लामखुट्टेको टोकाइबाट सर्ने डेंगी यस वर्ष नियन्त्रणमा आएको स्वास्थ्य निर्देशनालयका श्यामलाल आचार्यले जानकारी दिए । गत वर्ष प्रदेशका १० जिल्लामा एक हजार चार सय डेंगीबाट प्रभावित भएको आचार्यले जनाए । हालसम्म डेंगीबाट कर्णालीमा एक जनाको मात्र मृत्यु भएको निर्देशनालयको तथ्यांक छ ।
कर्णालीमा डेंगी नियन्त्रणको लागि गत वर्षदेखि चलाएको खोज र नष्ट गर अभियानपछि यसबाट सकारात्मक प्रभाव परेको आचार्यले बताए । उक्त अभियान अन्तरगत पालिकाहरूसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो । लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने अभियान चलाइएको आचार्यले बताए ।
कर्णालीका १० जिल्लामध्ये डेंगीबाट बढी प्रभावित हुने जिल्लामा सुर्खेत पर्दछ । तर, सुर्खेतमा पनि यस वर्ष खासै संक्रमित नदेखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा अहिलेसम्म १० जना मात्र डेंगीबाट प्रभावित भएका छन् । विगतका वर्षहरूमा एउटै वडामा ३५ जनासम्म संक्रमण देखिएको भए पनि यस वर्ष भने जिल्लाभर १० जना मात्र संक्रमित देखिएको जनस्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । जिल्लामा सञ्चालन गरिएको अभियानको कारण नै यस वर्ष डेंगीबाट संक्रमित हुनेको संख्या कम भएको गौतमले बताए ।
काेशीमा परीक्षणका लागि कीटको अभाव
कोशी प्रदेशमा डेंगी महामारीको रूपमा फैलिँदै गए पनि परीक्षणका लागि आवश्यक कीटको चरम अभाव देखिएको छ । जसका कारण संक्रमण पहिचान गर्न नै कठिनाइ भएको हो । सरकारी अस्पतालमा परीक्षण गर्ने कीटको अभाव हुँदा केहीले भने निजी स्वास्थ्य संस्थामा पुगेर समेत परीक्षण गराउन थालेका हुन् । तर निजी अस्पताल तथा क्लिनिकहरूले डेंगी परीक्षण गरेबापत एक हजार रुपैयाँसम्म शुल्क लिएको भन्दै गुनासो बढेको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत मेहताका अनुसार डेंगी संक्रमण दरलाई रोक्न धरानमा निकै चुनौती बढेको छ ।
‘एक घरका सबैजना संक्रमित भएका घटना पनि छन्, हरेक वार्डमा डेंगी फैलिएको छ, गत बर्ष काठमाडौंमा डेंगी संक्रमित भएजस्तै धरानमा पनि संक्रमण फैलिएको छ,’ उनले भने, ‘धरानमा अनब्रेकेबल रूपमा डेंगी फैलन सक्ने संकेत गर्दैछ, नियन्त्रणका लागि तीन तहका सरकारको तत्कालीन सहयोग आवश्यक भइसकेको छ ।’ उनले परीक्षणका लागि कीट समेत उपलब्ध हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा कीट माग गरे पनि थोरै संख्यामा मात्र उपलब्ध भइरहेको बताए । सरकारले कीट नपठाएपछि सुनसरीका अन्य स्थानीय तहका नगर अस्पतालहरूले आफैंले कीट खरिद गरी परीक्षण सुरु गरेका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले भने माथिल्लो निकायमै कीट अभाव भएकोले भनेजति उपलब्ध गराउन नसकिएको जनाएको छ । आपूर्ति केन्द्रका प्रशासकीय अधिकृत काशीनाथ पराजुलीले सरकारले कीट खरिद नगरेको र संघ सरकारबाट प्राप्त कीट मात्रै हाल सबै तहलाई बाँडेर वितरण भएकोले कीटको अभाव भइरहेको बताए ।
डेंगी प्रभावित जिल्लाहरूमा हालसम्म ४ हजार ५ सय थान परीक्षण कीट पठाइएको पराजुलीले जानकारी दिए ।
सचेत बन्दै गण्डकी
वर्षातमा दैनिक रूपमा डेंगीको बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगी संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । ‘हामीले कार्ययोजना नै बनाएर अघि बढेका छौं । त्यो योजनामा कीटको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीहरूलाई भर्चुअल तालिम दिने, सञ्चार माध्यमबाट सूचना फैलाउने काम भइरहेको छ,’ स्वास्थ्य निर्देशनालय गण्डकीका सूचना अधिकारी डा. नारायण श्रेष्ठले भने, ‘मुख्य भनेकै लामखुट्टेको लार्भा नष्ट गर्नु हो । यसका लागि स्थानीय तहसँगै सहकार्य गरेर वडाको नेतृत्वमा काम गरिरहेका छौं ।’
अहिले स्वास्थ्य कार्यालयहरूमा हरेक शुक्रबार साढे १० बजे १० मिनेट अभियान चलाइरहेको महानिर्देशक खड्काले जानकारी दिए । ‘डेंगी रोग नियन्त्रणको लागि हरेक शुक्रबार साढे १९ बजे १० मिनेट अभियान अन्तर्गत हरेक शुक्रबार सबै कर्मचारी सहभागी भई आ–आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान संचालन भएको छ,’ उनले भने, ‘यही अभियान अन्तर्गत वडासँग सहकार्य गरेका हौं । यसमा सबैले साथ दिएमा राम्रो हुन्छ ।’
के हुन्छ डेंगी लाग्दा ?
सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने, जोर्नी दुख्ने र शरीर कमजोर हुने डेंगी संक्रमणका लक्षण हुन् । डेंगी संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण हुन् ।
कसरी बच्ने ?
यसबाट बच्न सबभन्दा पहिला त लामखुट्टेको टोकाइबाट बच्नुपर्छ त्यसका लागि घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ, एकैठाउँ जमेको पानी राख्नु हुँदैन, घरमा जालीढोका लगाउने, झुल टाँगेर तथा लामखुट्टे भगाउने धुप जलाएर सुत्ने, लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ र बढी समस्या देखिए नजिकको स्वास्थ्य चौकीमा जानुपर्ने मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक राजीव झाले सुझाव दिएका छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया