स्वास्थ्य

नेपाल चिकित्सक संघको मागः मेडिकल काउन्सिलका पदाधिकारी र सीआइबीका अनुसन्धानकर्तामाथि कारबाही होस्

इकागज |
साउन २९, २०८० सोमबार १२:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको छ । चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको तथा सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्‍नचिन्ह खडा गरेकाले संघले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालय र गृहले मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो ।

स्वास्थ्य सेवामा इमान्दारीसाथ काम गरिरहेको जनशक्तिलाई त्रसित बनाउने, पद र अख्तियारको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको संघले बताएको छ ।


नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको गतल विवरण सीआइबीलाई उपलब्ध गराउनु र सरोकार नभएको चिकित्सकलाई नक्कली बनाएर समाजमा त्रसित वातावरण सिर्जना गरिरहेको संघले आरोप लगाएको छ ।

‘बिरामी र चिकित्सकबीचको सम्बन्धमा कमी ल्याउने । मानवीय भावनामा गम्भीर चोट पुर्‍याउँने र चिकित्सकीय सेवालाई दुषित तुल्याउने कार्यको जति नै निन्दा गरे पनि कम हुन्छ,’ संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ,' यस घटनालाई गम्भीर रुपमा लिइ कानुनी प्रक्रिया अगाडि नबढाइएमा संघ कडा कदम चाल्न बाध्य हुनेछ ।'

सीआइबीले केही दिनअघि आजीवन सदस्य सञ्जीव शाहलाई पक्राउ गरी मानसिक तनाव दिएको, मानमर्दन गरेको र न्युनतम मानव अधिकारको पनि ख्याल नगरेको चिकित्सक संघले आपत्ति जनाएको छ ।


Author

थप समाचार
x