प्राणघातक रसायन मिसाएर स्यानिटाइजर उत्पादन, दर्ताबिना उद्योग सञ्चालन
काठमाडाैँ : नक्कली स्यानिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीले घातक रसायन प्रयोग गरेर उत्पादन गरेको तथा बिना इजाजत संचालन भइरहेको महालक्ष्मी नगरपालिका ४ स्थित शीतलहाइटमा सञ्चालित एक स्यानिटाइजर उद्याेगमा छापा मारेको हो ।
मानव स्वास्थ्यमा खेलवाड गरी बिना अनुमति स्यानिटाइजर उत्पादन गर्ने उद्योगबाट प्रहरीले सबै स्यानिटाइजर जफत गरी संचालकलाई नियन्त्रणमा लिएर उद्याेग सिल गरेको छ । प्रहरीले उद्योग सञ्चालकमाथि कानुन बमाेजिम कारबाही अघि बढाइसकेको जनाएको छ । उक्त उद्योगमा महानगरीय अपराध महाशाखा मिनभवन काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय ललितपुर र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको हो ।
प्रहरीले मानव स्वास्थ्यमा हानि पुर्याउने रसायन प्रयोग गरी स्यानिटाइजर उत्पादन गरेको पाएपछि पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको जनाएको छ । उद्योगले उत्पादन गरेको स्यानिटाइजरमा मिथानोल अल्कोहल नामक रसायन अत्यधिक प्रयोग गरिएको पाइएको छ ।
उद्योगले उत्पादन गरेको तयारी अवस्थाको करिब ३५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ । प्रहरीले अनुसन्धानका लागि कम्पनीका सञ्चालक आशिष प्याकुरेल नियन्त्रणमा लिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया