स्वास्थ्य

डेंगी संक्रमण बढेपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

इकागज |
साउन ३२, २०८० बिहीबार २०:५८ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगी संक्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले दैनिक डेंगीका संक्रमण बढिरहेकाले सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यकता अनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह गरेका छन् ।
 
उनले अस्पतालमा डेंगी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार डेंगी संक्रमण अहिलेसम्म १४ हजार तीन सय ५७ जनामा देखिएको छ । यस्तै संक्रमण ७५ जिल्लामा फैलिएको र अहिलेसम्म १० जनाको संक्रमणको कारणले निधन भइसकेको छ । 


सबैभन्दा बढी सुनसरी जिल्लामा सात हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । सुनसरी जिल्लामा मात्र कुल संक्रमितको ५२ दशमलव दुई प्रतिशत रहेका छन् । महाशाखाका निर्देशक डा मरासिनीले डेंगी रोगको सही निदान र उपचार व्यवस्थापन गर्नसमेत अस्पताललाई निर्देशन दिएका छन् ।

'दैनिक डेंगी संक्रमण बढिरहेको छ । सङ्घअन्तर्गतका अस्पताल र प्रतिष्ठानलाई डेंगी रोग रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएका छौं,' उनले भने । 

डेंगी रोगको निदान तथा उपचार व्यवस्थापनका लागि राष्ट्रिय डेंगी रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न, स्वास्थ्य सेवा विभागबाट जारी गरिएको डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअुनसार कार्य गर्न र डेंगी रोगको निदानका लागि आवश्यक कीटको सुनिश्चितसमेत गर्न अस्पताललाई भनिएको छ । महाशाखाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । 

 उनले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि संक्रमण ह्वात्तै बढिरहेको बताए । डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी रोग लाग्दछ । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।


Author

थप समाचार
x