स्वास्थ्य

प्रधानमन्त्रीको अल्पज्ञान छचल्किँदा आयुर्वेद मजाकको विषय बन्यो

डा. प्रकाश ज्ञवाली |
जेठ १०, २०७८ सोमबार ८:११ बजे

आयुर्वेद औषधिहरूको इतिहास लामो छ । प्राचीन कालदेखि नै विभिन्‍न रूपमा जडिबुटी, आयुर्वेद औषधिहरू प्रयोग भएको पाइन्छ । समयक्रमसँगै यी औषधिहरूको विकास पनि हुँदै आयो । आधुनिक औषधिहरूको विकास भएसँगै आयुर्वेद औषधिहरू ओझेलमा परेको हो कि जस्तो भान हुन्छ । तर अहिले पुनः यसको महत्व बढ्न थाल्यो ।

पछिल्लो समय संसारमा देखा परेका थुप्रै नयाँ खालका रोगहरू नियन्त्रण गर्न आयुर्वेदिक औषधिहरू केही हदसम्म सहयोगी बन्‍ने गरेका छन् । विभिन्‍न किसिमका महामारी, रोगहरू नियन्त्रणमा यी औषधि पनि सहयोगी हुने गरेका छन् । अहिलेको तत्कालीन अवस्थामा हेर्दा कोभिड-१९ पनि महामारीको रूपमा आएको छ । यो रोग निर्मूल पार्ने औषधि अझै बनिसकेको छैन । तर यससँग लड्नका लागि आयुर्वेदका केही औषधिहरू उपयोगी साबित भएका छन् । जसको प्रयोगले नेपालका थुप्रै कोभिड-१९ संक्रमितहरूलाई राहत मिलेको छ । 


तर जिम्मेवार पदमा भएकाले अल्पज्ञानका आधारमा बोलिदिँदा आयुर्वेदिक औषधिहरू मजाकको विषय बनेका छन् जुन दुःखलाग्दो कुरा हो । जुनसुकै विषयवस्तुको पनि त्यही विषयवस्तु जानेको त्यही विषयवस्तुमा काम गरेको मान्छेले भनिदियो भने त्यो बढी विश्वसनीय हुन्छ । अन्यले भनेका कुराहरू आधिकारिक हुँदैन र मानिसले विश्वास पनि गर्दैन । त्यो विषयवस्तुमा काम गर्ने विज्ञ भनेको लामो समय काम गरेको र पढेको हुन्छ । १० औं वर्ष एकै विषयमा काम गर्दा मात्र उ त्यो विषयमा पोख्त हुन्छ ।

तर हाम्रो प्रधानमन्त्री आयुर्वेदको क्षेत्रमा पोख्त हुनुहुन्‍न । त्यसैले उहाँले आयुर्वेदिक औषधिहरूबारे दिएको जानकारीको मजाक बन्‍न पुग्यो । हुन त उहाँले राम्रो आशयले आयुर्वेदिक औषधिको प्रयोग गर्न प्रोत्साहन गर्नुभएको होला, तर उहाँ त्यो विषयमा काम गरेको व्यक्तित्व हुनुहुन्‍न । त्यही कुरा आयुर्वेदको क्षेत्रमा लामो समय काम गरेका कुनै व्यक्तित्वबाट आएको भए त्यति विवादित हुने थिएन । नागरिकले पनि त्यसलाई सजिलै आत्मसात् गर्थे ।

यहाँनिर त्रुटि भएको हो । हुनत बेसारबारे प्रधानमन्त्रीले जे कुरा बोल्नुभएको थियो, त्यो त संसारले मानेकै विषय हो । बेसारमा एन्टि क्लाइमेटरी प्रोपर्टी, एन्टि अक्सिडेन्ट प्रोपर्टी हुन्छ । विशेष गरी युरोपमा बेसारको ‘क्याप्सुल’ नै बनाएर खाने चलन चलेको छ । ५०० एमजी क्याप्सुलको नेपाली १५ देखि २० रूपैयाँ पर्ने रहेछ । मानिसले यसरी खाइरहेको छ, सबैले स्वीकार गर्दागर्दै पनि नेपालमा चाहिँ प्रधानमन्त्रीले भनेको शैली र अल्पज्ञानको कारण समस्या भयो । 

अम्बाको पात कोभिडको उपचारका लागि काम लाग्छ भन्‍ने प्रधानमन्त्रीको भनाइ वैज्ञानिक रूपमा कतै पुष्टि भएको कुरा हैन । परम्परागत रूपमा आयुर्वेदको, जडिबुटीको अभ्यास गर्नेहरू कसैले प्रधानमन्त्रीलाई सुनाइदिएछ क्यारे, अनि त्यसलाई नै प्रधानमन्त्रीले सोधखोज नगरी सार्वजनिक रूपमा भन्‍नुभयो । जसको परिणाम हामीले देखिहाल्यौँ । अम्बाको पातलाई सामाजिक सञ्जाल, सञ्चारमाध्यम जताततै उडाइयो । 

अम्बाको पातमा अनुसन्धान नभएसम्म हामीले पनि होइन भन्‍न पनि मिलेन, हो भन्‍न पनि । निष्कर्षमा पुग्‍न केही न केही आधार चाहिन्छ । अम्बाको पातमा आधार छैन, तर बेसारको हकमा यो अन्तर्राष्ट्रिय रूपमा आधार तयार भएको छ । 
प्रधानमन्त्रीज्यूले अल्पज्ञानको आधारमा बोलेको कुराहरूलाई एउटा वर्गले मजाकको विषय बनाइदियो र जताततै उडाइदियो । एउटा वर्गले आयुर्वेदिक औषधि नै खाइदिएन । फेरि अर्को वर्गले प्रधानमन्त्रीले बेसार, गुर्जो खानुपर्छ भन्‍नुभएको छ भनेर चाहिनेभन्दा बढी खाइदिएको छ । 

यस्ता जडिबुटीयुक्त चिजहरू बढी खाँदा पनि रगत पातलो बनाइदिन्छ । ब्लिडिङ डिसअर्डर बढी हुन्छ । कतिपयले त बेसार, गुर्जो खानै नहुने पनि हुन सक्छ । जसरी भात, रातो मासु सबैले खान मिल्दैन, त्यसरी नै जडिबुटी सबैले खान हुन्छ भन्‍ने हुन्‍न ।आयुर्वेदिक हो भनेर जडिबुटी जति पनि खान मिल्दैन । त्यसको डोज हुन्छ । खान मिल्ने/नमिल्ने छुट्याउनुपर्छ । प्रधानमन्त्रीज्यूले आयुर्वेदिक औषधिका बारेमा भन्दा खान मिल्ने-नमिल्ने, डोजअनुसार खाने कुराहरू आएन । उहाँले त केवल ‘खानुपर्छ’ भनिदिनुभयो । राम्रो आशयले नै भन्‍नुभएको होला, तर त्यसले सर्वसाधारणको स्वास्थ्यमा असर पनि गर्न सक्छ ।

प्रधानमन्त्रीले स्वास्थ्यको विषयमा बोल्दा उक्त विषयमा विज्ञसँग छलफल गर्नुपर्छ । प्रधानमन्त्रीले यसबारे बोल्नका लागि यस विषयमा विज्ञ तथा सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग छलफल गर्नैपर्छ । प्रधानमन्त्रीसँग त स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ, त्यसअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग छ । प्रोफेसनेल एसोसियसनहरू, नेपाल आयुर्वेद चिकित्सक संघ, आयुर्वेद विभाग छ । कसैसँग उहाँले सम्पर्क गरेर, आयुर्वेदको महत्वका कुराहरू मन्त्रालयको बिफ्रिङमार्फत सर्वसाधारणलाई जानकारी दिन लगाएको भए हुन्थ्यो । तर त्यस्तो भएन । 

आयुर्वेद, एलोपेथी, होमियोपेथी, कुनैले पनि कोरोना पूर्ण रूपमा निको पार्ने औषधि बनाइसकेको छैन । तर यसको मतलब यो होइन कि हामीसँग केही पनि छैन । हामी खाली छैनौँ । एलोपेथीले ‘रेमडिसिभिर’ औषधि पत्ता लगायो । आयुर्वेदले पनि औषधि खोज्यो । कोभिडले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हो  । श्वासप्रश्वासका लागि उपचार गर्दा कुनकुन जडिबुटी र औषधि प्रयोग भएका छन् भनेर आयुर्वेदमा खोजियो । त्यसरी खोज्दा फोक्सोको लागि काम गर्ने केही औषधि भेटियो । जुन औषधि हेपाटाइटिस बी हुँदा पनि चलायौँ । भाइरल फिबर, चिकन पोक्समा पनि चलाएका केही औषधि छन् । त्यस्तै बच्चाको निमोनियामा खुवाउने आयुर्वेदिक औषधि मध्ये कुन कुन औषधि कोभिडसँग लड्न सक्छन् भनेर खोजियो ।

अम्बाको पात कोभिडको उपचारका लागि काम लाग्छ भन्‍ने प्रधानमन्त्रीको भनाइ वैज्ञानिक रूपमा कतै पुष्टि भएको कुरा हैन ।

अनुसन्धान गर्दै समूहहरू बनाउँदै गर्दा केही औषधि मल्टिपर्पस निस्कियो । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, फोक्सोको क्षमता बलियो बनाउने र रोग लागेमा छिटो गल्ने नबनाउने रहेछ । जसबाट पत्ता लागेको केही औषधिहरू आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुबाट ‘कोभिड म्यानेजमेन्ट प्रोटोकल’का रूपमा सार्वजनिक गरेको छ । त्यसमा तीन थरीका औषधि छन् । एउटा एकदमै साधारण नागरिकहरूले प्रयोग गर्न मिल्ने खालको, एउटा साधारण वैध र कविराजहरूले चलाउन सक्ने औषधि र अन्तिममा चिकित्सकले चलाउन सक्ने औषधि छन् । चिकित्सकले चलाउने खालका औषधि विशेष परिस्थितिमा ध्यानपूर्वक चलाउनुपर्ने भएकाले यसलाई बाहिर त्यतिकै किन्‍न वा बेच्न पाइँदैन । आधिकारिक रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसलाई स्वीकृति दिएको छ । कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले पनि यही औषधि चलाइरहेको छ । सुर्खेत, बुटवल, धनगढीमा पनि त्यही प्रोटोकलको आधारमा औषधिहरू चलाइरहेको छौँ । अहिले जसरी कोभिडको नयाँ भेरियन्ट लागेको २४ देखि ४८ घण्टामा फोक्सो ड्यामेज बनाउँछ, त्यो हुन नदिन वा रोक्न सक्छ यो आयुर्वेदिक औषधिले । 

लक्षण नभएका, सामान्य लक्षण देखिएकालाई कडा औषधि चलाउन पर्दैन । कडा लक्षण देखिएकोलाई आयुर्वेदिक मात्रै चलाएर पुग्दैन, अन्य आधुनिक औषधि पनि चलाउनुपर्ने हुन्छ । अहिले धेरैको मृत्यु भयो । आयुर्वेद सुरु देखि चलाउने हो भने मृतक संख्या यतिधेरै हुने थिएन । १०० जना मृत्यु हुनेमा त्यो संख्या घटेर २० जनामा झार्न सकिन्थ्यो । 

मानिसहरू अलमलमा परेका छन् । मानिसले के बुझ्नुपर्छ भने, उपचार सामग्री एलोपेथी, होमियोपेथी वा आयुर्वेद हुँदैन । अक्सिमिटर उपकरण हो । यो कुनै एलोपेथी, होमियोपेथी वा आयुर्वेद औषधि होइन । आयुर्वेदको अस्पताललाई पनि यस्ता उपकरणको राम्रो व्यवस्था गरिदिनुपर्छ । अक्सिजनको पनि राम्रो व्यवस्था गरिनुपर्छ । तर आयुर्वेदलाई राज्यले हेर्दैन । हामीहरूसँग छलफल पनि हुँदैन । पटकपटक हामी कराउँछौँ । अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा कोही आयुर्वेदलाई माया गर्ने पर्नुभयो भने उहाँहरूले बजेट मिलाइदिने हो । आयुर्वेदको माया गर्ने व्यक्तिको कारणले काम भइरहेको छ, सरकारले नीतिगत निर्णय गरेर, यो गर्ने, त्यो गर्ने भनेर काम गर्दैन । 

नक्कली औषधिहरूको नियमन औषधि व्यवस्था विभाग, बिजुलीबजारले गर्नुपर्ने हो । तर गरेको छैन । अहिले बजारमा गुर्जो पनि दुई थरी छ । हामीले भन्‍ने तिनोसकोरिया, कोर्डिफोलिया हो । तर बजारमा काँडाकाँडा भएको गुर्जो पनि प्रयोग गरेको पाइन्छ । जसमा हानीकारक तत्व हुन्छ । जसले फोक्सो मै असर गर्छ । मान्छेले यी दुईको फरक चिन्दैन । कम्पनीले पनि याद गर्दैन । महामारीको बेलामा त बजारमा औषधिको अभाव हुन्छ । जसको कारण कम्पनीले जस्तो पायो, त्यस्तै कच्चा पदार्थ प्रयोग गरी औषधि बनाएको हुन सक्छ । बजारमा बेचिदिन्छ । त्यो कम्पनी दर्ता गरेकै भएपनि उसले बनाएर बेच्ने औषधि त नक्कली हुन्छ । बजारमा अमला पनि दुई थरी छ । ठूलठूला पनि छन्, ससाना पनि छन् । ठूला दाना भएको अमला औषधि होइन । औषधि युक्त अमला त वनबाट ल्याइएको सानो सानो अमला हो । त्यसबाट औषधि बनाउनुपर्छ । कम्पनीले छिटो पनि हुने, सस्तो पनि हुने भनेर ठूलो अमला राखिदिन्छ । 

आयुर्वेदिक औषधि बनाउन प्रयोग गर्नुपर्ने स्थानीय वा वनमा पाइने सामग्री हो । जब त्यसमा हुनुपर्ने गुण हुँदैन, त्यो नक्कली औषधि बन्छ । कस्तो सामग्रीले औषधि बनाएको छ भनेर औषधि व्यवस्था विभागले बेलाबेलामा छापा मार्ने हो भने पत्ता लाग्छ । तर कसैले गर्दैन । बजारमा छ्याप्छ्याप्ती नक्कली औषधि छ । अनि हामीलाई आरोप आउँछ, आयुर्वेदिक औषधिले काम गरेन, आयुर्वेदिक औषधिले कलेजो, किड्नी बिग्रियो भनेर । 
समग्र रूपमा नीतिगत निर्णय नै आवश्यक छ । अहिले एलोपेथीको लागि अस्पतालहरूको हकमा फटाफट निर्णयहरू भइरहेको छ, कुन अस्पताललाई कोभिड अस्पताल बनाउने, कति बजेट दिने भनेर । आयुर्वेदको सन्दर्भमा पनि नीतिगत निर्णय गर्नुपर्छ । आयुर्वेदको सन्दर्भमा यो संरचना भएकोलाई यो सुविधा दिने, यो कार्यक्रम सञ्चालन गर्ने भनेर निर्णय गरिदिओस् । आयुर्वेदको औषधिको अनुसन्धानको लागि के गर्ने, जनचेतना जगाउन के गर्ने भनेर टेकुको विभागलाई जिम्मा दिइयोस् ।

प्रधानमन्त्रीज्यूले अल्पज्ञानको आधारमा बोलेको कुरालाई एउटा वर्गले मजाकको विषय बनाइदियो । फेरि अर्को वर्गले प्रधानमन्त्रीले बेसार, गुर्जो खानुपर्छ भन्‍नुभएको छ भनेर चाहिने भन्दा बढी खाइदिएको छ ।

आयुर्वेदलाई त बजेट पनि अत्यन्त न्यून छ । प्रत्येक जिल्लामा पठाइने बजेट पनि कम छ । भौतिक पूर्वाधार पनि छैन । कति त भाडामै बसेका छन् । आफ्नै घर भएकोहरूमा पनि सुविधा छैन । कि त संस्था नै छैन, सरकारले खोलिदिएको संस्था पनि पूर्वाधार सम्पन्‍न छैन । त्यसकारणले समग्र आयुर्वेदको नीति नै बनाउनुपर्छ । हामीले त मागिरहेका छौँ पहिलेदेखि नै । २०५२ सालमा आएको आयुर्वेद स्वास्थ्य नीति छ, त्यो पुरानो भयो, त्यसले मात्रै काम गर्न सकिँदैन । १० वर्ष भन्दा लामो भयो, रिभाइज गर्नुपर्छ । नीतिगत निर्णय गरेर रिभाइज गर्ने, कार्यक्रम बनाउन, जनशक्ति विकासमा पनि लगानी गर्ने गर्नुपर्छ । रोग रोकथामदेखि नियन्त्रणमा सजिलो हुन्थ्यो । कम खर्चिलो, कम झन्झटिलो हुन्थ्यो ।

रेगुलर भान्छामा खानेकुराहरू पनि किनेर राखेको हुन्छ । त्यसलाई व्यवस्थापन गर्न सिकाइदिनुपर्छ । घरभित्रैको अनुभवले पनि के भन्छ भने ९० प्रतिशत रोगहरू भान्छाबाटै उत्पन्‍न हुन्छ, या त निर्मूल हुन्छ । हामीले कति महंगो खाना खायौँ भन्‍नेमा सरोकार छैन, त्यसको गुणवत्ता कति छ भन्‍नेले सरोकार राख्छ । गरीब र धनी बजारमा तरकारी किन्‍न गए भने धनीले १४० रूपैयाँ तिरेर काउली किनेर ल्याउला, गरीबले २० रूपैयाँ मुठा साग किनेर ल्याउला, स्वास्थ्यको लागि साग नै राम्रो हो काउली भन्दा । त्यसैले पैसाले मात्रै स्वास्थ्य किन्दो रहेनछ । पैसाले हामीलाई अस्वस्थ बनाउँदो रहेछ । पैसा नहुनेले सिस्नु खान्छ । सिस्नु राम्रो हुन्छ । हाम्रो भान्छा नै अनौठो किसिमको रहेछ, यसभित्रै भएको चिजबिजले रोगी बनाउने र निरोगी बनाउने काम गर्दो रहेछ । यस्ता कुरामा जोड दिन सरकारले स्वस्थ भान्छाको कन्सेप्ट बनाएर जनचेतना फैलाउने हो भने अन्य पैसा खर्च नगरेपनि राम्रो आउटपुट आउन सक्छ । 

हामी भगवान्‌लाई बेलको पात, चढाउँछौँ, यो त पखाला रोक्ने औषधि हो । गणेशलाई दुबो चढाउँछौँ, यो ‘ब्लिडिङ डिस्अर्डर’को औषधि हो । भगवान्लाई राम्रो राम्रो चिज चढाउँछौँ । भगवान्लाई चढाउने कपुर, पञ्चामृत, जडिबुटी चढाएर हामी अस्वस्थकर खानेकुरा खान्छौँ । हामीले आयुर्वेदको महत्व नै बुझ्न बाँकी छ । यसलाई धार्मिक रूपमा प्रचार नगरेर औषधिका रूपमा प्रचार गर्न सकिन्छ । राज्यले यति गर्नुपर्छ । (ज्ञवालीसँग सुनीता साखकर्मीको कुराकानी ।)

 

 


Author

डा. प्रकाश ज्ञवाली

ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष हुन् ।


थप समाचार
x