मकवानपुर जिल्लामा डेंगी संक्रमित १७३ जना, संक्रमणबाट एकको मृत्यु
मकवानपुर- मकवानपुर जिल्लामा डेंगी संक्रमितको संख्या १ सय ७३ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १ सय ७३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयकाे गत साउन १ गतेदेखिकाे तथ्याङ्क अनुसार उक्त संख्यामा डेंगी संक्रमित भएका हुन् । हालसम्म जिल्लामा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा १ सय २२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा २ जना, भीमफेदी गाउँपालिकामा ४ जना, बकैया गाउँपालिकामा १ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगी पुष्टि भएको छ ।
जिल्लाका १० स्थानीय तह मध्ये थाहा नगरपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका र इन्द्रसराेवर गाउँपालिकामा डेंगी संक्रमित फेला नपरेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । जिल्लामा डेंगी संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
देशभर १६ हजार २ सय ६७ जनामा डेंगी संक्रमण
देशभर डेंगी संक्रमितको संख्या १६ हजार नाघेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) टेकु काठमाडाैले जनाएकाे छ । गत १५ पुसदेखि हालसम्म १६ हजार २ सय ६७ जनालाई डेंगी संक्रमण पुष्टि भएको महाशाखाकाे शनिबारसम्मको तथ्यांकमा उल्लेख छ । साेही अवधिमा डेंगीले १२ जनाको ज्यान लिइसकेको समेत महाशाखाले जनाएकाे छ ।
हालसम्म ७५ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा १२ हजार २१, बागमतीमा २ हजार ६ सय ५१, गण्डकीमा ६ सय १८ , सुदूरपश्चिम प्रदेशमा ४ सय ७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३ सय १३, मधेशमा १ सय ४० र कर्णाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया