नेता र आसेपासेले खोप 'खोस्दा' १५ लाख ज्येष्ठ नागरिक दोस्रो डोजबाट वञ्चित
'खोप आएमा मात्र समय तालिका सार्वजनिक गरिन्छ'
काठमाडौँ : सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको 'भर्चुअल' पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले २६ लाख ६५ हजार ९ सय ८७ जनाले खोप लगाइसकेको बताएका थिए । अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्त भएको उनले जानकारी दिए ।
तर पहिलो चरणको कोभिसिल्ड खोप लगाएका साढे १४ लाख ज्येष्ठ नागरिकले महामारीमै दोस्रो चरणको खोप लगाउन नपाउने पक्कापक्की छ । फ्रन्टलाइनरको रुपमा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, पत्रकार, सुरक्षाकर्मी र वृद्ध नागरिक लगायत राजनीतिक दलका नेता मन्त्री तथा सांसदले खोप लगाइसके। सांसदले कोभिसिल्डको दुवै डोज खोप पुरा गरिसकेका छन् । नेता र आसेपासेले खोप 'खोस्दा' करिब १५ लाख ज्येष्ठ नागरिक दोस्रो डोजबाट वञ्चित भएका हुन् । विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिकलाई उच्च जोखिममा पनि राखिसकेको छ ।
पछिल्लो समय अन्य उमेरको तुलनामा सबैभन्दा बढी मृत्यु हुनेमा ज्येष्ठ नागरिक र दीर्घ रोगी छन् । पहिले खोप पाउनु पर्ने नागरिकले हो तर, उनीहरूले पाएका छैनन् । उनैको मत पाएर निर्वाचित जनप्रतिनिधिले भने दुवै डोज खोप लगाइसके । जोखिममा रहेका तिनै नागरिक खोपबाट वञ्चित भएका छन् । संसद सचिवालयका अनुसार संसद् सचिवालयमै गएर १ सय ९४ सांसदले खोप लगाए । अन्य सांसदले भने विभिन्न खोप केन्द्रमा गई लगाएका थिए ।
सरकारले पहिलो मात्रामा खोप लगाएकाले १६ हप्तासम्म लगाइसक्नुपर्ने घोषणा गरेको छ । पहिलो चरण अन्तर्गत लगाएका कोभिसिल्ड खोप अहिले थोरै संख्यामा रहेकाले करिब ६५ वर्षका माथि ९ लाख भन्दा बढी र कुल साढे १४ लाख ज्येष्ठ नागरिकसहितले दोस्रो डोज खोप लगाउनबाट वञ्चित हुने भएका छन् ।
कोभ्याक्स कार्यक्रमबाट पाउने करिब १ करोड ४० लाख खोप नपाएकाले र भारतले खोप निर्यात गर्दा अधिकांश नागरिक खोपबाट वञ्चित भएका छन् । दुई वटा भन्दा अन्य कम्पनीका खोप सरकारले आयातको लागि पहल नगर्दा लक्षित उमेर समूह खोप लगाउनबाट वञ्चित हुने भएका छन् ।
थप खोप नआए ज्येष्ठ नागरिकले नपाउने
देशभर विभिन्न जिल्ला स्वास्थ्य कार्यालयमा गरी कोभिसिल्ड खोप एक लाख डोज बाँकी रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख झलक गौतम बताउँछन् । उनका अनुसार ६५ वर्षभन्दा माथिका ९ लाख बढी रहेका छन् । जसमध्ये ७० वर्ष भन्दा बढी उमेर करिब साढे पाँच लाख छन् ।
नेपालमा थप खोप नआएमा ज्येष्ठ नागरिकले दोस्रो चरण अन्तर्गतको खोप लगाउन नपाउने जस्तै भएको छ । स्वास्थ्य मन्त्रालयको तर्फबाट खोप आयात गर्न अमेरिका,बेलायत, भारत र चीनसँग विभिन्न कूटनीतिक तवरबाट पहल भइरहेको गौतमको भनाइ छ ।
'खोप प्राप्त नभएकाले ज्येष्ठ नागरिकको खोप अनिश्चित भइसकेको छ,' गौतम भन्छन,' दोस्रो चरणका लागि खोप आएमा मात्र समय तालिका सार्वजनिक गरिन्छ ।' गौतमले भेरोसेल खोप दुई लाख बढीले लगाइसकेको जानकारी दिए ।
'जनप्रतिनिधिलाई खोप लगाउँदा खोप कम'
सुरुमा खोप लगाउन उमेर समूह अनुसार वर्गीकरण गरिएकाले ज्येष्ठ नागरिकले खोप लगाए तर अन्य उमेर समूहका मानिस पनि प्राथमिकतामा परेकाले खोप अभाव भएको छ ।
खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा. श्यामराज उप्रेतीका अनुसार मन्त्री तथा सांसदलाई नियमित बैठकमा जानुपर्ने भएकाले खोप लगाउने प्राथमिकतामा परेका थिए । नागरिकलाई खोपले पुग्छ वा पुग्दैन भनेर नसोच्दाको परिणाममा अहिले आएर ज्येष्ठ नागरिक खोप लगाउनबाट वञ्चित भएको उनको दाबी छ ।
'मे महिनासम्म कोभ्याक्स अन्तर्गत खोप आउनु पर्ने थियो। खोप आएन त्यसैले ज्येष्ठ नागरिकलाई पुगेन,' उप्रेती भन्छन,' कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार खोप आइसकेको छ । कुल करिब १ करोड ४० खोप पाउनुपर्छ ।' भारतले कोभ्याक्स अन्तर्गत खोप निर्यात नगर्दा खोप पाउन नसकिएको उनले प्रस्ट पारे ।
'ज्येष्ठ नागरिक पहिलो प्राथमिकतामा राखिएन'
'जोखिमपूर्ण नागरिकलाई प्राथमिकतामा नराखी खोप अभियान कार्यक्रम सुचारु गर्दा धेरै ज्येष्ठ नागरिकले दोस्रो चरणको खोप लगाउन नपाउने भएका छन, 'भाइरोलोजिष्ट, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे भन्छन् ।
सुरुवातीमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनरका रुपमा काम गर्ने पत्रकार र सुरक्षाकर्मी तथा अन्यलाई लगाउने व्यवस्था गरेको थियो त्यसमा ज्येष्ठ नागरिकलाई समावेश गरेको भए समस्या नहुने डा. पाण्डेको भनाइ छ । सरकारले मुख टाल्नका लागि विभिन्न समूहकालाई लगाएको उनले बताए ।
खोप लगाउने कार्यक्रममा विज्ञहरूसँग सल्लाह गरेर भएको भए जोखिममा परेका नागरिक नछुट्ने डा.पाण्डेको दाबी छ । सरकारले आफूखुसी खोप लगाउने कार्यक्रम घोषणा गर्दा थप समस्या भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया