कोरोना मात्रै होइन, डेंगीबाट पनि बचौँ
काठमाडौँ : यतिबेला गर्मी ह्वात्तै बढेको छ । गर्मीसँगै देखापर्ने रोगहरूको जोखिम पनि बढेको छ । गर्मी मौसममा फैलिने एक प्रमुख रोग भनेको डेंगी हो । लामखुट्टेले पनि डेंगी फैलाउन मद्दत गर्ने भएकाले यो झनै छिटो फैलिन्छ ।
स्वास्थ्य सेवा विभाग, टेकूका इपिडीमियालोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलका अनुसार डेंगी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । यो एडिस एजिप्टाई/ एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्दछ । त्यस्तै यो लामखुट्टेलाई ‘टाइगर मस्किटो’ पनि भनिन्छ । साथै यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ ।
डेंगी सार्ने लामखुट्टे हाम्रो वासस्थान वरपर रहन्छ । पहिले तराईमा मात्रै भेटिएपनि अहिले पहाडी हिमाली जिल्लामा पनि यसका संक्रमित भेटिन थालेका छन् । जसका कारण जुनसुकै स्थानमा भएपनि पानी जमेका ठाउँमा डेंगीको लामखुट्टेहरुको प्रजनन् रोक्नको लागि लामुखुट्टे निरोधक प्रयोग गर्न जरुरी छ । घरमा प्रयोग गरिने एसी, कुलरहरुमा समेत पानी जम्न दिनुहुँदैन । खुल्ला रुपमा पानी जम्मा गर्ने गर्नु हुँदैन ।
नेपालमा डेंगी सन् २००४ मा पत्ता लागेको थियो । साथै डेंगी लाग्यो भने यसको एन्टी डेंगी भनेर कुनै भ्याक्सिन वा औषधि बनेको छैन । लक्षण अनुसार अन्य औषधि दिनुपर्ने हुन्छ । त्यसैले रोग लाग्नु भन्दा पहिले नै सावधानी अपनाउनुपर्छ ।
पोखरेलका अनुसार एकपटक एउटा प्रकारको डेंगी लागिसकेपछि जीवनभर त्यसै प्रकारको डेंगी रोग लाग्दैन, तर अन्य प्रकारको डेंगी रोग लाग्न सक्छ । र दोस्रोपटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । ‘एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ, एउटा लामखुट्टेले आफ्नो जीवनभर करीब पाँच सय देखि हजार वटासम्म अण्डा पार्ने गर्दछ,’ उनी भन्छन्, ‘संक्रमण गराउने लामखुट्टेको सबै अण्डाबाट बन्ने लामखुट्टे पनि त्यत्तिकै संक्रामक हुन्छ । यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ ।’ यो लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्ने गर्दछ ।’
डेंगी लागेको कसरी थाहा पाउने ?
ज्वरो
डेंगीको पहिलो लक्षण भनेको अचानक उच्च ज्वरो आउनु हो । यदि तपाईंलाई डेंगी ज्वरो आएको छ भने तपाईंले चिसो महशुस गर्नुहुन्छ । साथै तपाईंलाई अधिक थकान पनि महशुस हुन्छ । प्रारम्भिक ज्वरो लगभग १०० देखि १०२ डिग्री फरेन्हाइट सम्म पुग्न सक्छ । त्यसकारण आफुलाई डेंगी लागेको शंका लागेमा तुरुन्तै डाक्टरकहाँ जानुपर्छ ।
आँखा भित्र दुखाइ
डेंगीको एक विशिष्ट लक्षण भनेको ज्वरोका साथै आँखा दुख्नु पनि हो । ज्वरो सँगै आँखाहरुमा निरन्तर दुखाई हुनु डेंगीको निश्चित संकेत हो । त्यसकारण तपाईले पनि यस्तो दुखाई महशुस गर्नुहुन्छ भने जचाउन जानुहोस् ।
टाउको दुखाइ
माथि दिइएको लक्षणहरुको साथसाथै तपाईंले टाउको दुखेको पनि महशुस गर्न सक्नुहुन्छ । यो दुखाइ कञ्चट हुँदै मष्तिस्क सम्म पनि पुग्न सक्छ । तपाईंलाई डेंगी लागेको खण्डमा मांशपेशी वा हाडजोर्नीहरुमा पनि दुखाइ अनुभव गर्न सक्नुहुन्छ । जसले तपाईंलाई सबै समय सुख्खा र थकित महशुष गराउँछ ।
छालामा डाबर आउनु
डेंगीका डाबरहरु मुल रुपमा सपाट र रातो देखिन्छ । ति तपाईंको ज्वरो सुरु भएपछि २÷३ दिनभित्र आउन सक्छन् । ती तपाईंको शरीरको कुनै पनि भागमा आउन सक्छ । र यी डाबर आएपछि तपाईंलाई चिलाउँछ । तिनीहरु प्राय दादुरा जस्तो देखिन सक्छन् र रोगको पछिल्लो चरणमा देखा पर्छन् ।
वाकवाकी लाग्नु
यदि तपाईं डेंगी संक्रमित हुनुभयो भने तपाईंलाई वाकवाकी लागिरहनसक्छ । पेट दुखाइको साथमा उल्टी पनि आउन सक्छ । यदि यस्तो हुन्छ भने यो डेंगी चरम अवस्थामा पुगेको हुन सक्छ । यसप्रकारको लक्षण देखिना साथ नजिकैको स्वास्थ्य संस्थामा वा चिकित्सक कहाँ जानुहोस् । आफ्नो शरीरमा प्लेटलेट बढाउनको लागि पर्याप्त रुपमा झोलिलो पदार्थ पिउनुहोस् ।
यसको रोकथामका लागि डा. पोखरेलको सुझाव :
- पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टीतेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने ।
- पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
- कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टीतेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
- फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्नुपर्छ ।
- एसिड एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्राय पुरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ ।
- सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
- लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टेले नटोक्ने मल्हम पनि दल्न सकिन्छ ।
- घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
- घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया