मेथिनकोट अस्पतालमा डायलायसिस सेवा सुरू
काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमाडायलायसिस सेवा सुरु गरिएको छ । मिर्गौला रोगीको उपचारका लागि पाँच वटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा बिस्तार गरिएको छ ।
अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने भएका छन् । काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
मेथिनकोट अस्पतालले सुरु गरिएको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अस्पताल अवलोकनका क्रममा बताए । उनका अनुसार अब काठमाडौँका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताए । 'यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ,' उनले भने ।
तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका नगरप्रमुख कुन्साङ लामाले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको लामाको भनाइ छ ।
अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भए सँगै बिरामीको चाप बढ्दै गएको छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।
अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया