स्वास्थ्य

फेस सिल्डसम्बन्धि दुविधाको समाधान

इकागज |
जेठ १३, २०७८ बिहीबार ७:५ बजे

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरको कहर तीब्र रूपमा बढ्दै गएपछि कपनकी सरीता श्रेष्ठले हप्ता दिनअघि मात्रै थप सुरक्षाको लागि फार्मेसीबाट पञ्जासँगै एउटा फेस सिल्ड पनि किनिन् । त्यसपछि तरकारी किन्‍न जानको लागि उनले उक्त फेस सिल्ड एकपटक मात्रै प्रयोग गरिन् । अब फेरि त्यो फेस सिल्ड प्रयोग गर्न मिल्छ कि मिल्दैन उनलाई थाहा छैन । साथीभाइलाई सोध्दा कसैले प्रयोग गर्ने सल्लाह दिन्छन्, कसैले ‘हुन्‍न’ भन्छन् ।

यो दुविधाको कारण उनले फेरि उक्त फेस सिल्डको प्रयोग गरेकी छैनन् । सरीता मात्रै होइन, अचेल थुप्रै मानिस फेस सिल्डबारे दुविधामा पर्ने गरेका छन् । फेस सिल्ड पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन ? फेस सिल्ड लगाएपछि मास्क लाउनुपर्छ कि पर्दैन ? जस्ता यावत प्रश्नहरूको भूमरीमा फस्‍ने गरेका छन् ।


हामीमध्ये धेरैको लागि फेस सिल्ड नयाँ छ । स्वास्थ्य क्षेत्रमा कार्यरतहरूले यसलाई राम्ररी जान्दछन् । किनकि अस्पतालमा शल्यक्रिया गर्ने चिकित्सकहरूलाई पनि यसको आवश्यकता पर्छ । जब शारीरिक तरल पदार्थ या खतरनाक पदार्थ आँखा, नाक वा मुखमा जाने सम्भावना अधिक भएको अवस्थामा स्वास्थ्यकर्मीहरू फेस सिल्ड लगाउँछन् । फेस सिल्डले स्वास्थ्यकर्मीलाई थप सुरक्षा प्रदान गर्छ । अधिकांश पीपीई किटमा एक अतिरिक्त सुरक्षा प्रदान गर्नको लागि फेस सिल्ड पनि सामेल गरिएको हुन्छ ।  

तर तपाईंले याद गर्नुभएको होला, फेस सिल्ड स्वास्थ्यकर्मी बाहेक अन्य पेशाकर्मीले पनि लगाउन थालेका छन् । तपाईका कोही आफ्नाले लगाउन थालेका होलान् ।

कोभिड संक्रमितहरुको संख्या बढ्दै छ, त्यसैले हामी घरबाहिर निस्कँदा थप सुरक्षाका उपाय अवलम्बन गर्नु अत्यावश्यक भएको छ । मानिसहरू मास्कसँगै आँखा, नाक र मुखबाट शरीरमा सिधै भाइरस प्रवेश गर्न नपाओस् भनेर फेस सिल्ड प्रयोग गर्न रुचाउँछन् । सुरक्षाको हिसाबले यसले थप सुरक्षा प्रदान गर्ने भएकोले यसको उपयोग गर्न सकिन्छ । बजारमा सस्तोदेखि महंगो फेस सिल्ड पाइन्छ । आफ्नो बजेट अनुसार फेस सिल्ड खरीद गर्न सकिन्छ ।

फेस सिल्डसँग सम्बन्धित उत्पन्‍न हुने दुविधाहरूको केही समाधान यहाँ दिइएका छन् ।

कसरी लगाउने फेस सिल्ड ?
बजारमा थरीथरीका फेस सिल्ड पाइन्छ । चस्माको साथमा जोडिएको फेस सिल्ड, इलास्टिक ब्याण्डको मद्दतले निधारमा अड्याउन मिल्ने फेस सिल्ड । जब तपाईं सार्वजनिक स्थानमा हुनुहुन्छ भने अतिरिक्त सुरक्षा सुनिश्चित गर्नको लागि सुरूमा मास्क लगाउनुहोस् । त्यसपछि तपाई चस्मा प्रयोग गर्नुहुन्छ भने चस्मा लगाउनुहोस् । त्यसपछि मात्रै फेस सिल्ड लगाउन सक्नुहुन्छ ।

फेस सिल्ड के बाट बन्छ ?
फेस सिल्डमा पारदर्शी पोलिकार्बोनेट सिट हुन्छ । जसले धुलोको कणबाट तपाईंलाई सुरक्षा दिन्छ । हानीकारक सुक्ष्म जीवसँग सिधा सम्पर्कमा आउनबाट यसले बचाउँछ ।

फेस सिल्ड पुनः प्रयोग गर्न मिल्छ ?
मिल्छ । फेस सिल्ड पुनः प्रयोग गर्न योग्य छ । प्रयोग गरेपिच्छे यसलाई धुने वा स्यानिटाइज गरेर पुनः प्रयोग गर्न मिल्छ । तर धेरै पटक प्रयोग गरिसकेको फेस सिल्ड धेरै नै फोहोर भयो भने त्यसलाई फेर्नुपर्छ ।

फेस सिल्ड कसरी सफा गर्ने ?
अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग अन्तर्गतको रोग नियन्त्रण र रोकथाम केन्द्रले फेस सिल्ड सफा गर्ने तरिकाहरू सार्वजनिक गरेको थियो । ति तरिकाहरू यसप्रकार छन् :

- फेस सिल्ड किन्दा उक्त सिल्डसँगै सफा गर्नै निर्देशन लेखिएको छ कि हेर्नुपर्छ । यदि सफा गर्ने तरिका छैन भने न्युट्रल डिटरजेन्ट र तातो पानीले फेस सिल्ड सफा गर्नुपर्छ । त्यसपछि सफा पानीले त्यसलाई पखाल्नुपर्छ ।

- रक्सीले फेस सिल्डको प्लास्टिक र ग्लुलाई खराब पारिदिन सक्छ । साथै राम्रो खालका फेस सिल्डमा बाफ जम्‍ने समस्या नहुन सक्छ । तर रक्सीले सफा गर्दा उक्त फेस सिल्डमा बाफ जम्‍ने समस्या उत्पन्‍न हुन सक्छ । त्यसकारण फेस सिल्डलाई क्लोरिन युक्त डिस्इन्फेक्टेन्टले सफा गर्नुपर्छ ।

- डिस्इन्फेक्टेन्टले सफा गरेपछि पनि सफा पानीले उक्त फेस सिल्डलाई पखाल्नुपर्छ ।

- पखालीसकेपछि हावामा सुख्खा हुन राख्न सकिन्छ । तर राख्नु अघि सफा कागज वा टावलले फेस सिल्डको भाइजरमा भएको चिसो पानी सोस्नुहोस् । यसो नगरेमा पछि पानीका थोपा सुकेका ठाउँमा दाग बस्‍न सक्छ । एकपटक बसेको दाग फेरि जान गाह्रो हुन्छ । जसले झनै फोहोर देखिन सक्छ । र अर्को फेस सिल्ड किन्‍नुपर्ने हुन्छ ।

फेस सिल्डले कोभिड १९ को प्रसार कम गर्न मद्दत गर्न सक्छ ?
लोवा हेल्थकेयर युनिभरसिटीका एसोसिएट चिफ मेडिकल अफिसर एवं संक्रामक रोगहरुसम्बन्धि क्लीनिकल प्रोफेसर डा. माइकल बी एडमण्डका अनुसार फेस सिल्डले कोभिडको जोखिम कम गर्न सक्छ । 

मानिसले खोक्दा वा हाच्छ्यु नाक र मुखबाट गर्दा निस्कने स-साना थोपा वा कणहरू अन्य मानिसको सम्पर्कमा नआओस् भनेर फेस सिल्ड लगाउँदा फाइदा पुग्छ ।

फेस सिल्डबारे सिदार्थ वर्मा, मनहर धानक र जोन फ्राङ्कफिल्डले तयार पारेको रिसर्च पेपर तयार पारेका छन् । जसलाई फिजिक्स अफ फ्लुड्सले २०२० को सेप्टेम्बर १ मा प्रकाशित गरेको थियो । जसमा कोभिडको भाइरसको संक्रमण रोक्नको लागि फेस सिल्ड कति फाइदाजनक छ भनेर अध्ययन गरिएको थियो । जसबाट उनीहरूले पत्ता लगाए कि फेस सिल्डले सिधै भाइरसको आक्रमणबाट मानिसलाई जोगाउँछ । तर फेस सिल्डको भाइजर वरिपरि लामोसमयसम्म ति भाइरस घुमिरहन्छन् । वातावरणमा मिसिएर बस्छन् । त्यसैले उनीहरूले अध्यननको निश्कर्षमा भनेका थिए, ‘कोभिडको भाइरस रोक्न धेरै साधन छैनन् । त्यसैले आफु र आफु नजिककालाई सुरक्षित गर्नको लागि उपलब्ध मास्क, स्यानिटाइजर, पञ्जा, फेस सिल्ड सबै प्रयोग गर्नु राम्रो हुन्छ । नियमित हात धुने, शारीरिक दूरी कायम गर्ने, सकेसम्म घरमै बस्नुपर्छ ।’

फेस सिल्ड लगाएपछि मास्क लगाउनुपर्छ कि पर्दैन ?
फेस सिल्ड लगाएपनि मास्क लगाउनु अत्यन्त आवश्यक हुन्छ । किनकि, सिल्डको वरिपरिका भागबाट भाइरस नाक, मुखमा पुग्‍न सक्ने सम्भावना हुन्छ । साना कणहरू फेस सिल्डको वरिपरिबाट पनि छिर्न सक्ने भएकोले मास्क लगाउनुपर्छ । अलाबामा युनिभरसिटीको बर्मिङघम स्कुल अफ मेडिसिनका क्लीनिकल असिस्टेन्ट प्रोफेसर डा. जोय हेनिङसेनका अनुसार संक्रमणको खतरा भएकाहरूसँगै संक्रमितले पनि फेस सिल्डको प्रयोग गर्नुपर्छ । किनकी संक्रमितले फेस सिल्डको प्रयोग गरेमा उनीहरूमा भएको भाइरस अन्यमा सर्ने सम्भावना कम हुन्छ ।

फेस सिल्डबाट बढी फाइदा लिन के गर्ने ?
- सँधै फेस सिल्डसँगै मास्क पनि लगाउनुहोस् ।

- फेस सिल्डले अनुहार पुरै राम्रोसँग ढाकिएको छ वा छैन भनेर हरपल ख्याल गर्नुहोस् ।

- हरेक पटक फेस सिल्ड प्रयोग गरिसकेपछि सफा गर्नुहोस् । किटाणुहरूको आक्रमणबाट जोगाउन डिस्इन्फेक्ट गर्नुहोस् । 


Author

थप समाचार
x