स्वास्थ्य

भेरी अस्पताल प्रकरणबारे नर्सको बयान :

'हामीलाई आक्रमण गर्ने योजना पहिल्यै बने जस्तो लाग्यो'

आश्विनी गुरुङ |
जेठ १५, २०७८ शनिबार ११:३ बजे

भेरी अञ्चल अस्पतालमा बिहीबार त्यहाँ उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका नर्स तथा डाक्टरलाई कुटपिटको प्रयास गरेका थिए । सो समयमा अस्पतालमा ड्युटीमा रहेकी नर्स अश्विनी गुरुङ अन्य नर्स र डाक्टरसँगै भागेर ज्यान बचाउन सफल भएकी थिइन् । सोही घटनाबारेमा पीडित अश्विनीले जे देखिन् त्यो जस्ताको तस्तै बयान गरेकी छिन् : 

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आइसियूमा पहिलो चरणको कोभिड-१९ देखि कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाहिँ ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी (डिल्ली रावत)  चाहिँ कोभिड आइसियूको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाहिँ पहिलेदेखि नै गम्भीर थियो ।


तपाईंको बिरामीको अवस्था गम्भीर छ भनेर आफन्तलाई डाक्टरले गराइसक्नु भएको थियो । नभन्दै अचानक बिरामीको अक्सिजन लेभल घटेर २०-३० सम्म पुग्यो । त्यसपछि हामीले भेन्टिलेटरमा राखेर अक्सिजन दिने योजना बनायौँ । दुई जना बहिनीहरू पहिल्यै त्यहाँ थिए ।

मैले भेन्टिलेटर जोड्ने क्रममा उहाँ (मानबहादुर रावत) ले मलाई के भन्‍नुभयो भने, ‘कस्तो नर्स हो, भेन्टिलेटर जोड्न पनि नआउने ।’ किनकि भेन्टिलेटरमा राख्‍ने बित्तिकै एकैचोटि अक्सिजन बढ्ने हुँदैन, समय लाग्छ । तर उहाँ ‘कस्तो नर्स हो, कहाँ पढेको हो ? लाइसेन्स खारेज गरिदिन्छु, जागिरबाट निकालिदिन्छु, यस्तो नर्सलाई यहाँ ल्याउने हो ? भेन्टिलेटर जोडेर मेरो बिरामी मार्न लागे ’ भनेर धम्क्याउन थाल्नु भयो ।

त्यसपछि हामीले उहाँ (मानबहादुर) लाई बाहिर पठायौँ । त्यसपछि हामीले जे-जे औषधि दिनुपर्ने थियो । त्यो दियौँ । बिरामीको मृत्यु भइसकेपछि कर्न्फम (निश्चित) गर्न इसिजी गर्ने क्रममा एक जना हाम्रो स्टाफ सदीक्षालाई चाहिँ इसिजी गर्दा गर्दै १०/१५ जनाको समूहमा आएर घाँटी अठ्याएर मार्ने कोसिस गर्दाखेरी भाग्दै-भाग्दै आइसकेपछि हामीहरू सबैजना भागेर कोभिड आइसियूभित्रको क्याबिनभित्र लुकेर बस्यौँ ।

त्यहाँ पनि उहाँहरू सबै जना आएर ढोका फोडे । त्यहीँनेर अट्याच ट्‍वाइलेट थियो । त्यहीँनेर गएर लुक्ने कोसिस गरेका थियौँ, उनीहरू त्यहाँ पनि आए ।  त्यो ढोका पनि फोडेपछि हामीसँग कुनै पनि विकल्प थिएन । अनि झ्यालबाट हाम फाल्न बाध्य भयौँ ।

त्यहाँदेखि भाग्दै नयाँ भवन नजिक लुकेर एक घण्टाजति बस्यौँ । त्यहाँ बसेर हामी रोयौँ । हामी चार जना स्टाफ नर्स र एक जना अनड्युटी डाक्टर हामी यसरी भागेका थियौँ । हामीले अस्पताल प्रशासनलाई पहिले जानकारी गराइसकेका थियौँ कि बिरामीको आफन्त एकदमै आक्रोशित छन् । त्यही कारणले गर्दा हामीलाई प्रहरी पठाइदिनुस् भन्दा पनि उहाँहरूले प्रहरी नपठाइदिँदा यस्तो घटना भएको हो ।  

खुट्टामा चोटपटक लागेको छ । एक जना बहिनीको पनि खुट्टामा धेरै चोट लागेर एक्सरे गर्न पठाएका छौँ । उनीहरूले हामीलाई आक्रमण गर्ने योजना पहिल्यै बनाएको लागेको थियो । अवस्था यस्तो थियो कि हामी कराउँदा पनि कोही पनि बचाउन नआउने अवस्था थियो ।


Author

आश्विनी गुरुङ

नर्स गुरुङ भेरी अस्पताल नेपालगञ्‍जमा कार्यरत छिन् ।


थप समाचार
x