स्वास्थ्य

डेंगी संक्रमण नियन्त्रणमा

इकागज |
असोज २३, २०८० मंगलबार १५:४१ बजे

काठमाडौँ- डेंगी भाइरसको संक्रमण कम हुँदै गएको छ । अङ्ग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगी संक्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा  घटेको पाइएको हो । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा संक्रमण फैलिन नपाएको बताए । 'हामीले भदौ र असोजमा डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरेका थियौँ,' उनले भने, 'स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा संक्रमण बढ्न पाएन ।' 


सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेंगी नियन्त्रणमा रहेको उनको भनाइ छ । यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेंगी संक्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेंगी संक्रमण फैलिँदा २० जनाको ज्यान गएको छ । 

सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । गत अगस्तमा १३ हजार आठ सय ४० संक्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ संक्रमण देखिएका छन् । गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगी संक्रमण देखिएको थियो । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेंगी रोग लाग्ने गर्दछ । महाशाखाले भदौ र असोजमा डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर, सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।

सुनसरीमा मात्र १६ हजारभन्दा बढी संक्रमित

संक्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेंगी संक्रमण देखिएको छ । झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र  धनकुटामा चार सय ४५ जनामा संक्रमण देखिएको छ । रासस


Author

थप समाचार
x