स्वास्थ्य

बसेल दम्पतीको वेदना : हामी गरिबको को नै छ र ?

अतिन आचार्य |
जेठ १६, २०७८ आइतबार १४:४६ बजे

काठमाडौँ : जेठ महिना छ । केही दिन अघि परेको लगातारको वर्षाले भिजाएको सडक सुख्‍खा भइसकेको छ । निषेधाज्ञाका कारण सडक सुनसान छ । तर यो शून्यतालाई एम्बुलेन्सको साइरनले बेलाबखत बिथोलिरहन्छन् । त्योबाहेक पासवाला सवारीको पातलो उपस्थिति त छँदैछ ।

सरकारले भाइरस तह लगाउन 'चेन ब्रेक' गर्ने निर्णयसहित एक महिनायता सहरमा निषेधाज्ञा लगाएको छ । तर, भाइरसको चेन ब्रेक गर्ने चक्करले गरिबलाई भने 'मानमाथि भुक्तमान' थपिएको छ । निषेधाज्ञाले पीडित भएका हजारौं हुँदा खाने वर्गका प्रतिनिधि हुन् गोपाल बसेल र सुकुमाया दम्पती । निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द भएपछि उपचारका लागि यो दम्पती हिँडेरै लामो यात्रा गर्न बाध्य भएको छ ।


इकागज प्रतिनिधिले यो दम्पतीलाई भद्रकालीमा  भेटेको थियो । श्रीमान् गोपाल बसेललाई ह्वीलचेयरमा राखेर श्रीमती सुकुमाया गन्तव्य नापिरहेकी थिइन् । श्रीमतीले पछाडिबाट धकेलिरहेको ह्वीलचेयरमा श्रीमान् फेस सिल्ड लगाएर बसेका छन् । निषेधाज्ञा नभएको भए यी दम्पती सार्वजनिक यातायातको भिडभाडमा कोच्चिएर काठमाडौँ खाल्डोमा ओहोरदोहोर गरिरहेका हुन्थे ।

हामीले निषेधाज्ञामा यसरी दम्पतीलाई कहाँ जानु भएको भनी सोध्यौ । ती दम्पतीले एकै स्वरमा भने, 'मिर्गौलाको डायलासिस गर्न वीर अस्पताल जादैछौँ ।' ५६ वर्षीय गोपाल बसेल हप्‍तामा दुई पटक वीर अस्पताल जाने रहेछन् । निषेधाज्ञा भएसँगै उनको सार्वजनिक यातायात ह्वीलचेयर बनेको रहेछ । उनले ह्वीलचेयर र श्रीमतीको सहारामा अस्पताल जाने आउने गरेको बताए  ।

शंखमुल बस्ने गोपाललाई ह्वीलचेयरबाट वीर अस्पताल पुग्न करिब डेढ घण्टा लाग्छ । जाँदाआउँदा तीन घण्टा बाटोको समयलाई उनीहरूले छुट्याउने गरेका छन् । सामान्य दिनमा उनी सार्वजनिक यातायातमा करिब २० मिनेटमा पुग्ने गर्थे ।

'माइक्रो चढेर डायलासिस गर्न माइक्रो चढेर बूढाबूढी जान्थ्यौ,' गोपाल भन्छन्,' जाँदाआउँदा हामीले ६० रुपैयाँ तिर्थ्याै‌ । अहिले केही पाइँदैन । ह्वीलचेयरको सहारामा जान्छु ।'

ह्वीलचेयरको सहारा

उनले ह्वीलचेयर पनि देब्रे खुट्टा भाँच्चिएपछि किनेका हुन् । १३ हजार ५ सयमा खरिद गरेको ह्वीलचेयर निषेधाज्ञामा वरदान साबित भएको छ । यो पनि हुन्थेन भने यो समयमा कसरी अस्पताल जाउ-आउ गर्थे, उनले कल्पना पनि गरेका छैनन् ।

ह्वीलचेयर किन्ने बाध्यता पनि उनलाई रोगैले लगाएको हो । डायलासिस गर्न जाँदा रत्‍नपार्कको अन्डग्राउन्ड पुलको भर्‍याङ्बाट लड्दा उनको कम्मर मुनिको भाग नचल्ने भएको छ । 'मिर्गौलाले काम नगर्ने समस्या त थियो । फेरि चोटमाथि चोट थपिएर त्यसै भारी बोकिरहेको छु, ' गोपाल भन्छन् ।

खुट्टाको अप्रेसन गर्न मन छ तर ६० हजार रुपैयाँ लाग्ने भएकाले उनले गर्न सकेका छैनन् । अप्रेसन गरेपछि एक महिनासम्म खुट्टा तन्काएर बस्नुपर्ने भएकाले डायलासिस गर्न नपाइने चिन्ताले पनि सताउने गरेको छ ।

रामेछापका उनी गाउँमा खेतीपाती गरेर दुई छोरा र दुई छोरीका साथ बसेका थिए । उनले शरीरमा अप्ठयारो महसुस भएपछि स्वास्थ्य परीक्षण गरे । सुरुमा केही होइन भन्ठानी घरमा उपचार गरी बसेका थिए । खुट्टा सुनिन्दै गएपछि जिल्ला अस्पतालमा परीक्षण गर्न गए । त्यहाँ रोग पत्ता नलागेपछि काठमाडौँ परीक्षण गरी मिर्गौलामा असर परेको थाहा पाएका थिए ।

गोपाल मिर्गौलाको उपचार गर्न काठमाडौँमा आइ बसेको जेठ १८ गते ११ वर्ष पुग्छ । काठमाडौँ बसेको ११ वर्ष पुगेसँगै जीवनको ५६ औँ वसन्तमा पनि पुग्नेछन् । उपचारका क्रममा ३० लाख रुपैयाँ सकिएको उनी बताउँछन् ।

'गाउँमा थोरै पाखाबारी छ, अलिअलि ऋण गरेँ, चन्दा मागेर पनि उपचार गरेँ, ठीक भएन,' उनले भने,' म समय मात्र कुरेर बसेको छु । समयदेखि बाहेक गर्न सक्ने केही पनि छैन ।'

उनलाई मिर्गौला प्रत्यारोपण गर्ने चाहना छ । तर यसका लागि चाहिने करिब १२ लाख जोहो गर्ने उपाय छैन । 'ठूलो पद र पैसा भएको मानिस भए सबैले दिन्थे । होला । आफू परियो खेती किसानी गर्ने सानो मान्छे, हाम्रो को नै छ र ?  मेरो लागि यही डायलासिस बाँच्ने सहारा भएको छ,' उनले सुनाए ।

'निषेधाज्ञासँगै काम गर्ने घर बेखबर भए'

सरकारले डायलासिस निःशुल्क गरिदिन्छ । तर, काठमाडौंको महंँगीमा यसैका लागि टिक्न पनि यो परिवारलाई कम सकस छैन । सुकुमायाले आफू बस्ने वरिपरिका घरमा काम गरेर जाउलोको जोहो गर्ने गरेकी छिन् तर निषेधाज्ञाले त्यसमा पनि लात हानेको छ ।  निषेधाज्ञा सुरु हुनुभन्दा अघि सुकमाया  तीनवटा घरमा काम गर्थिन् । कोभिडको त्रास बढेपछि उनलाई दुई वटा घरले बोलाउन छाडेका छन् । आपत  नुनचुक भएर विपत आइपुगेको छ  ।

सुकमायाले तीनवटा घरमा काम गर्दा महिनाको १० हजार रुपैयाँ पाउने गरेको बताइन् । 'एउटा घरमा मात्र काम गर्छु महिनामा ३ हजार पाउँछु, ' उनले भनिन,'  बिहान र बेलुका काममा जान्छु । '

बसेल दम्पतीले कोठाको भाडा तीन हजार रुपैयाँ तिर्ने गरेका छन् । छोराहरू पनि एकै घरमा बस्छन् तर बेग्लाबेग्लै भान्सा गरी बसेको सुकमायाले बताइन् । 'बुढेसकालको सहारा हुन्छ भन्थे तर अप्ठयारो पर्दा उनीहरूले सहारा दिएनन,'  निराश मुद्रामा उनले भनिन् ' श्रीमान्को माया लाग्छ एकदिन डायलोसिस छुटाउने बितिकै साह्रो पर्छ  । बिहानको काम छोडेर भए पनि अस्पताल लिएर जाँदैछु ।'

एक त मिर्गौलाको रोग, त्यसमाथि खुट्ट्टाको चोट अनि भएका छोराहरूको पनि बेवास्ता । बसेल दम्पतीको कथा सुनेपछि बालकृष्ण समले भनेको पंक्ति झलझली याद आउनेरैछ, 'दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x