स्वास्थ्य

स्वास्थ्य टिप्‍स

जाडोमा मुटु कसरी जोगाउने ? ‘मर्निङ वाक' बन्द गरौँ

प्रा.डा दिवाकर शर्मा |
मंसिर ८, २०७७ सोमबार ७:२४ बजे

जाडो महिनामा मुटुको विशेष ध्यान दिनुपर्छ । मुटुको रोग लागेकाले मात्रै होइन, मुटु स्वस्थ हुनेले पनि भविष्यमा मुटु रोगको समस्या नआओस् भन्नका लागि ध्यान पुर्‍याउनुपर्छ । विभिन्न अध्ययनले जाडो मौसममा मुटुका समस्याहरु बढी हुने देखाएको छ । विशेषगरी हृदयघातको समस्या यो बेला बढी देखिन्छ । जाडोमा मुटुका रक्तनलीहरु खुम्चिने, ब्लड प्रेसर बढ्ने हुन्छ । त्यस्तै, जाडोमा गर्मीको तुलनामा खाना धेरै, व्यायाम कम हुन्छ । यसले पनि स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

कहिल्यै मर्निङ वाकमा ननिस्किनेहरु जाडो महिनामा ‘ज्यान तताउनु पर्‍यो’ भन्दै मर्निङ वाक निस्किन्छन् । तर चिसोमा मुटुको समस्या भएकाहरु मर्निङ वाकमा निस्किनु हुँदैन । यसका केही कारणहरु छन् । अन्तराष्ट्रिय रुपमा गरिएका केही अध्ययनले बिहानको समयमा वातावरण प्रदुषण धेरै हुने उल्लेख गरेको छ । बिहानको हावामा धेरै प्रदुषण हुने पाइएकाले यसले स्वास्थ्यलाई फाइदाभन्दा धेरै हानी पुर्‍याइरहेको हुन्छ । बिहान ८ बजे अगाडि सकेसम्म मर्निङ वाकमा ननिस्किनु राम्रो । मुटुको कारणले मात्र नभएर कोभिडले गर्दा पनि अहिले घरबाहिर गएर मर्निङ वाक गर्न जाने वातावरण छैन ।


व्यायामको लागि घरबाट बाहिर नै निस्किनुपर्छ भन्ने छैन । आफ्नै कोठा, छत र कम्पाउण्डभित्र पनि हिँडडुल वा व्यायम गर्न सकिन्छ । त्यस्तै धेरै चिसोमा बाहिर हिँड्दा ब्लड प्रेसर बढ्ने सम्भावना पनि हुन्छ । धेरै मानिसहरुको जाडोमा ब्लड प्रेसर अचानक ह्वात्तै बढ्ने गरेको पाइएको छ । त्यसैले ब्लड प्रेसरको अवस्थाबारे पनि अपडेट लिइराख्नुपर्छ ।

मुटुलाई जोगाउनका लागि खानपानमा पनि ध्यान पुर्‍याउनुपर्छ । चुरोट, सुर्ति र जाँडरक्सीको सेवन गर्नुहुँदैन । सागसब्जी र फलफुल धेरै खाने गर्नुपर्छ । मासु र चिल्लोपदार्थ भएको खानेकुराहरु कम खानुपर्छ । नियमित औषधि खानेहरुले औषधि नटुटाइ खानुपर्छ । चिसोबाट बच्नको लागि तातो न्यानो गरेर बस्नुपर्छ ।

चिसोले मुटुसँगै फोक्सोलाई पनि असर गर्छ । चिसोमा धेरैलाई निमोनिया हुन्छ । निमोनियाले पनि मुटु रोगीलाई असर पार्छ । यसकारण इन्फ्लूयन्जा र निमोनियाको खोप सबैले लगाउनुपर्छ । वर्षमा एकचोटी यो खोप अनिवार्य लगाउनुपर्छ । रुघाखोकी, निमोनिया नहुँदा मुटु पनि सुरक्षित हुन्छ र, यसले मुटुसँगै कोभिडबाट लड्न पनि सघाउ पुर्‍याउँछ । (कुराकानीमा आधारित ।)
 


Author

प्रा.डा दिवाकर शर्मा

शर्मा वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् ।


थप समाचार
x