स्वास्थ्य

आजदेखि फेरि एन्टिजेन परीक्षण सुरु

इकागज |
जेठ २०, २०७८ बिहीबार १४:४५ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।


कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो । लक्षित समूहमा पर्ने वा शङ्कामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ ।


Author

थप समाचार
x