स्वास्थ्य

कोभिड परीक्षण गर्न नमानेका दुईको मृत्यु

इकागज |
जेठ २१, २०७८ शुक्रबार १६:२२ बजे

पाँचथर: कोभिड-१९ परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । 

उनीहरूलाई कोभिडको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए।


उनकाअनुसार लक्षण देखिएका उनीहरूको परीक्षण हुन सकेको थिएन । 'वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन', वडाध्यक्ष नेम्वाङले भने, 'हिजो दुःखद घटना भयो ।' उनीहरूमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिए ।


Author

थप समाचार
x