स्वास्थ्य

मेयर शाक्यले भने - 'खोपको प्रबन्ध मिलाइएको छ'

इकागज |
जेठ २४, २०७८ सोमबार १८:२४ बजे

काठमाडौँ : मंगलबारदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिइने भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरकफरक उमेरका जेष्ठ नागरिकलाई खोप दिइने प्रबन्ध मिलाइएको जानकारी दिए । पाँच दिनमा एक लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए ।


काठमाडौँ महानगरपालिकाले खोपको लागि ३२ वटा खोप केन्द्र तोकीसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । जेष्ठ नागरिकसँगै आउने परिवारका अर्को जेष्ठ सदस्य भए उहाँलाई पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने पनि उनले जानकारी दिए । २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

 
 


Author

थप समाचार
x