अनलाइन कक्षाले आँखालाई सास्ती
कोभिड-१९ ले गर्दा बालबालिका स्कुल जान पाएका छैनन् । उनीहरू अनलाइन कक्षा लिइरहेका छन् । जसकारण उनीहरूमा ‘स्क्रिन टाइम’ बढिरहेको छ । मोबाइल, ल्यापटप, कम्प्युटर र ट्याबमा उनीहरू समय बिताउन थालेका छन् ।
स्क्रिनमा लामो समय बिताउँदा सामान्य अवस्थामा जति आँखा झिम्किन्छ त्यो अनुसार झिम्किन पाउँदैन । आँखा झिम्किन नपाउने बत्तिकै आँखामा आँसु फैलिन पाउँदैन र, आँखा सुख्खा हुन्छ । जसले आँखा चिलाउने पोल्ने, बिझाउने र आँसु आउने आदिजस्ता समस्या देखिन थाल्छन् ।
सबैसँग कम्प्युटर र ल्याप्टप हुँदैन । धेरैले मोबाइलबाटै कक्षा लिइरहेका हुन्छन् । मोबाइल, कम्प्युटर, ल्यापटप सबैको स्क्रिनबाट निस्किने रेजले पनि बालबालिकाको आँखालाई असर गर्छ । जसको कारण उनीहरूमा ‘रिफ्राक्टिभ एरर’ अर्थात् दृष्टिदोषको समस्या देखिन्छ । त्यसमा पनि मायोपिया भन्ने दृष्टिदोष उनीहरूमा देखिन्छ ।
केही बालबालिकामा जन्माजात नै दृष्टिदोषको समस्या हुन्छ । कतिपयमा भने स्कुल जान थालेपछि यो समस्या देखिन थाल्छ । मायोपिया १०-११ वर्षको उमेर भएपछि सुरु हुन्छ । गर्मी महिनामा केही बालबालिकामा आँखा चिलाउने समस्या पनि देखिन्छ । तर, यो १४-१५ वर्षको उमेर भएपछि आफै निको भएर जान्छ ।
मायोपियाको समस्या आजकाल धेरै बालबालिकामा हुने देखिएको छ । उनीहरूले टाढाको वस्तु धमिलो देख्छन् । जसले गर्दा आजभोलि धेरै बालबालिकालाई सानै बेलामा चस्मा लगाउनुपर्ने देखिएको छ ।
यो समय धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेको हुनाले आगामि दिनमा मायोपियाको समस्या झनै बढ्ने संभावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्चाएर हेर्ने, टाउको दुख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुने हुन्छ । मायोपियाबाट बालबालिकालाई बचाउन ग्याजेटको कम प्रयोग गर्न लगाउनुपर्छ ।
धेरै अभिभावक बच्चाले सानै उमेरमा चस्मा लगाउनुपर्दा चिन्तित देखिन्छन् । आँखाको समस्या देखिदा ६ महिनाको बच्चालाई पनि चस्मा लगाउनु पर्ने हुन्छ । दुई वर्षसम्मको उमेर ‘भिजट डेभलप’ हुने उमेर हो । त्यो समयमा देखिएको समस्यालाई बेवास्ता गरियो भने पछि समस्या हुन्छ । चस्मा लगाउनुपर्ने बच्चाहरूमा आठ वर्षभित्र चस्मा लगाउन सकेको खण्डमा पछि गएर आँखा अल्छी हुने हुँदैन । सानैमा पावरवाला चस्मा लगाइदिँदा भोलि झन् धेरै पावरवाला चस्मा लगाइदिनुपर्ला भन्ने चिन्ता पनि केही अभिभावकमा छ । तर, यो चिन्ता लिनुपर्ने विषय होइन ।
सानोमा समस्या समाधान नगर्दा ठूलो भएपछि विभिन्न उपाय लगाउदा पनि आँखालाई बनाउन सकिदैन । त्यसको लागि बालबालिकाको आँखा ६ महिनादेखि वर्षदिनभित्र जचाइराख्नुपर्छ ।
त्यो बाहेक पनि उनीहरूको आँखा बेलाबेलामा असामान्य रुपमा हल्लिरहको छ, डेडो छ, खुम्च्याएर हेर्छ, नौलो ठाँउ जाँदा अभिभावको हात समाउँछ, बाटो नदेखेर ठोक्किन्छ, लड्छ भने आँखामा समस्या छ भनेर बुझ्नुपर्छ । धेरै बालबालिका आफूलाई भएको समस्याबारे जानकार नभएर ‘कम्प्लेन’ गर्न नसक्ने भएकाले उनीहरूकोे हाउभाउ बुझेर उनीहरूको समस्याबारे थाहा पाउन सकिन्छ ।
कोभिडले गर्दा धेरै बालबालिका घरबाहिर निस्किन पाएका छैनन् । बाहिर निस्किन नपाउने बित्तिकै उनीहरू पहिला जस्तो आउटडोर गेम खेल्दैनन् । घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउँछन् । जुन बालबालिका बाहिर गएर खेल्दैनन् उनीहरूमा आँखाको समस्या देखिएको छ ।
यो रिसर्चले पनि देखाएको कुरा हो । नेपालमा सरकारी र निजी विद्यालयका बालकालिकामा एउटा अध्ययन गरिएको थियो । जसमा सरकारी विद्यालयमा पढ्ने बालबालिकाभन्दा निजी विद्यालयमा पढ्ने बालबालिकामा धेरै आँखाको समस्या देखिएको थियो ।
अहिलेको अवस्थामा ‘अनलाइन कक्षा नलिनू’ भन्न मिल्दैन । अनलाइन कक्षा नलिदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले, कक्षा हुँदा कम्प्युटरमा बसेपनि त्यसपछिको समय भने बालबालिकालाई स्क्रिनबाट टाढा राख्नुपर्छ । कम्प्युटरको गेमभन्दा बाहिरी गेमहरू खेलाउनुपर्छ । यस्तो समयमा बाहिर गएर खेल भन्न पनि मिल्दैन । तर, घरमै पनि उनीहरूलाई कौसीतिर निकालेर अन्य गेम खेलाउन सकिन्छ । (बाल आँखा रोग विशेषज्ञ डा. श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया