स्वास्थ्य

कोभिड-१९ को दोस्रो खोप नलगाए के हुन्छ भन्‍ने अन्यौलले सतायो

इकागज |
जेठ २७, २०७८ २०:१९ बजे

काठमाडौँ :  कोभिडविरुद्धको खोपको पहिलो मात्रालागएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारित समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ । राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनले कोभिडविरुद्धको खोपको एक मात्रा लगाएका व्यक्तिहरुले १२ देखि १६ हप्ता भित्रमा अर्को डोज लगाउन विश्व स्वास्थ संगठनले निर्देश गरे पनि निर्धारित समयभित्र दोस्रो मात्रा नभएमा के हुन्छ भन्नेमा स्पष्ट नभएको बताए ।

एड्स हेल्थ केयर फाउण्डेशन नेपालले संसारभर सञ्चालन गरिरहेको ‘भ्याक्सीनेट आवर वल्र्ड’  अभियानबारे जानकारी दिने उद्देश्यले आयोजित गरेको अन्तक्रियामा डा. पुनले समयमा नै खोप उपलव्ध भएको भए नेपालले अहिलेको क्षति बेर्होने अवस्था नआउने धारणा राखे । विश्वमा खोप आविष्कार भइसक्दा नेपालजस्ता मुलुकको खोपमा पहुँच चुनौतीपूर्ण बन्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।

यसैगरी चितवनको भरतपुर अस्पतालका कन्सेल्टेन्ट फिजिसियन डा. कल्याण सापकोटाले प्राप्त खोपलाई उमेर समूहका आधारमा नभइ जोखिमका आधारमा प्राथमिकतामा राख्न सकिए कोभिड संक्रमणलाई छिटो नियन्त्रण गर्न सकिने धारणा राखेका थिए । 

उनका अनुसार ‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै दीर्घरोग भएका व्यक्तिहरु र अनौपचारिक क्षेत्रबाट पहिलो पंक्तिमा बसेर काम गर्ने व्यक्तिहरु यसको प्राथमिक समूह बन्नुपर्छ ।

राष्ट्रिय एचआइभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले एचआइभी संक्रमित, सुधार केन्द्रमा रहेका लागू पदार्थ प्रयोगकर्ताहरु, यौनकर्मी, तेस्रो लिंगी समुदाय अहिले पनि उच्च जोखिममा रहेको भन्दै तुरुन्त खोपको प्राथमिकतामा राख्नुपर्ने बताए । सुरुवाती चरणमा एचआइभी संक्रमितलाई उपचारको पहुँचमा ल्याउन कठिन भएजस्तै अब कोभिड खोपमा पहुँच अभिवृद्धि गर्नु अर्को चुनौती भएको उनको भनाइ छ ।

विश्वका धनी राष्ट्रहरुको संगठन ‘जी सेभेन’ को सम्मेलन यही साता आयोजना हुदैछ । उक्त बैठकमा विश्वका सवै राष्ट्रहरुको खोपमा पहुँचको सवाललाई छलफलको विषय वनाउनुपर्नेमा अन्र्तक्रियाका सहभागीहरुले जोड दिएका छन् ।

अध्ययनहरुका अनुसार सन् २०२१ सम्ममा विश्वमा उत्पादित खोपमध्ये ८५ प्रतिशत हिस्सा विश्वका धनि राष्ट्रहरुले ओगट्ने छन् । जबकि यी राष्ट्रहरुले विश्वको कुल जनसंख्याको १४ प्रतिशत मात्र हो । यो तथ्यले कतै खोपलाई विश्वका धनी राष्ट्रहरुले कम विकसित देशमाथि आफ्नो प्रभुत्व जमाउने हतियारका रुपमा प्रयोग त गरिरहेका छैनन् भन्ने प्रश्न उठेको छ । 



Author

थप समाचार