स्वास्थ्य

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री ओली तयार

इकागज |
जेठ २८, २०७८ शुक्रबार १९:४८ बजे

काठमाडौँ : सरकारले व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन तयारी गरेको छ । शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठकमा विधि पुर्‍याएर आएका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि बीएन्डसीलाई सम्बन्धन दिन लागेको खुलेकाे हो । 

प्रधानमन्त्रीको इच्छा अनुरुप नेपाललाई स्वास्थ्य क्षेत्रको हब बनाउने उद्देश्यले कानुनसम्मत माग गरेका मेडिकल कलेजलाई सम्बन्ध दिनुपर्ने बैठकका एकजना सहभागीले बताएका छन् ।


प्रधानमन्त्री स्वास्थ्य क्षेत्रमा नेपाललाई समृद्ध बनाउनुपर्ने भएकाले मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने भनाइ राखेको निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालका सबै नागरिकले सहजै मेडिकल शिक्षा पढन पाउने व्यवस्था मिलाउनुपर्ने धारणा राखेको उनले जानकारी दिए ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालबाट वर्षेनी चिकित्सा शिक्षा पढन विदेश जानेलाई रोक्नुपर्ने धारणा राखेको अन्सारीले बताए । नेपालमा चिकित्सा शिक्षा पढाउन सक्ने वातावण बनाउन सक्यो भने पनि आम मानिसले सहजै पढन पाउने श्रेष्ठले धारणा राखेको उनले जानकारी दिए । मन्त्री श्रेष्‍ठले गत वर्ष मात्र करिब एक हजार नेपाली विद्यार्थी मेडिकल शिक्षा पढ्न विदेश गएको बताएका थिए ।

अर्का सहभागी मेडिकल काउन्सीलका अध्यक्ष डा.भगवान कोइरालाका अनुसार बैठकमा सहभागीले मिश्रित प्रतिक्रिया दिएका छन् । बैठकमा ठोस यहीँ निर्णय भयो भनेर नसकिने अवस्था रहेको उनले बताए ।  'माइन्योट हुन बाँकी छ, बैठकको निर्णय भोलि सार्वजनिक हुन्छ र सबैले थाहा पाउँछन,' डा. कोइराला भन्छन् । 


Author

थप समाचार
x