स्वास्थ्य

के हामी लगाउनु पर्ने सनस्क्रिन लगाइरहेका छौँ ?

इकागज |
जेठ २९, २०७८ शनिबार ६:५३ बजे

गर्मीको मौसम छ । पछिल्लोसमय गर्मीको मौसममा सनस्क्रिन प्रयोग ह्वात्तै बढेको छ । तर बजारमा पाइने अधिकांश सनस्क्रिनमा हानीकारक केमिकल मिसिएको पाइएको छ । 

अमेरिकी प्रयोगशाला ‘भ्यालिस्योर’ले सार्वजनिक गरेको रिपोर्टअनुसार परीक्षण गरिएका २७ प्रतिशत सनस्क्रिन र सन केयर प्रोडक्टहरूमा बेन्जिन, कार्सिनोजेन लगायतका पदार्थहरू भेटिएको छ । जुन स्वास्थ्यको लागि हानीकारक मानिन्छ ।


‘भ्यालिस्योर’ले ६९ वटा फरकफरक कम्पनीबाट उत्पादित २९४ वटा सन केयर प्रोडक्टहरूको परीक्षण गर्दा ७८ वटामा बेन्जिन रहेको पत्ता लगाएको थियो । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग अन्तर्गतको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बेन्जिन र कार्सिनोजेन मानिसको छाला र आँखाबाट शरीरमा प्रवेश गर्छ । यसको प्रयोग गर्नाले विभिन्न घातक रोगहरू लाग्न सक्ने भएकाले केन्द्रले यसको प्रयोगमा बन्देज लगाएको छ । 

अमेरिकाको नेसनल इस्टिच्युट फर अकुपेस्नल सेफ्टी एन्ड हेल्थले बेन्जिनको प्रयोग गर्न मिल्ने मात्रा ०.१ भाग प्रति मिलियन(पीपीएम) तय गरिदिएको छ । तर ‘भ्यालिस्योर’ प्रयोगशालाले केही ब्रान्डेड सनस्क्रिनहरूमा यसको मात्रा २ पिपिएम भन्दा बढी प्रयोग भएको पाएको हो । त्यस्ता ब्रान्डमा ‘न्यूट्रोजिना’, ‘सन बम’, ‘सीभीएस हेल्थ’ रहेका छन् । 

‘सन बम’ र ‘सीभीएस हेल्थ’का प्रोडक्टहरू अमेरिकामा मात्रै पाइन्छन् । तर ‘न्युट्रोजिना’ का प्रोडक्टहरू नेपालमा छ्याप्छ्याप्ती पाइन्छन् । ‘भ्यालिस्योर’ प्रयोगशालाले न्युट्रोजिनाका २५ वटा प्रोडक्टहरूमाथि अध्ययन गर्दा जम्मा दुई प्रोडक्ट मात्रै प्रयोग गर्न मिल्ने देखिएको छ । ‘अल्ट्रा सेर वेटलेस सनस्क्रिन स्प्रे एसपीएफ ७०’ र ‘सेर जिंक ड्राइ–टच फेस सनस्क्रिन एसपीएफ ५०’ लोसन बाहेक अन्य कुनै पनि सनस्क्रिन प्रयोग गर्न नमिल्ने उल्लेख गरेको छ ।  

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बेन्जिनबारे सार्वजनिक गरेका तथ्यअनुसार वर्षदिन वा सो भन्दा लामो समय बेन्जिनयुक्त प्रोडक्टहरू प्रयोग गर्नाले रगतमा असर गर्छ । यसको प्रयोगले बोनम्यारोमा पनि असर हुने अध्ययनले देखाएको छ । त्यसैगरि, यस्ता सनस्क्रिनले रातो रक्तकोष घटाउने र एनिमिया हुने सम्भावना बताइएको छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा असर गर्नुका साथै इन्फेक्सन हुने सम्भावना बढाइदिन्छ । हावामा बेन्जिनको अत्यधिक सम्पर्कले क्यान्सर हुने सम्भावना पनि बढी रहने अध्ययनको निष्कर्ष रहेको छ ।

बेन्जिनको लामो समय प्रयोग गरेकी महिलाहरूको महिनावारी गडबडी हुने सम्भावना रहन्छ । साथै डिम्बासयको आकार घट्दै जाने सम्भावना हुन्छ । बेन्जिनले भु्रणभित्र असर गर्छ कि गर्दैन भन्ने चाहिँ अध्ययन भइसकेको छैन । तर, जनावरमा भने यसको परीक्षण भइसकेको छ । जनावरमा गरिएको परीक्षणअनुसार गर्भवती जनावरहरूको शरीरमा बेन्जिन प्रवेश गरेको छ भने कम तौलको बच्चा जन्मने, हाडहरू बन्न ढिला हुने, बोनम्यारो ड्यामेज हुने लगायत समस्या निम्तिएको पाइएको छ । 

चिकित्सकसँग परामर्श लिएर सनस्क्रिन प्रयोग गर्नुपर्छ 
लभाना स्कीन एन्ड हेयर क्लिनिक महाराजगञ्जमा कार्यरत छाला रोग विशेषज्ञ प्राडा सविना भट्टराईका अनुसार मानिसले हरेक दिन दाँत माझेजस्तै हरेक दिन सनस्क्रिन लगाउनु राम्रो हो । घर भित्र बस्दा होस्, या बाहिर हिँड्दा, घाममा बस्दा होस् या शीतलमा, गर्मीको मौसम होस्, या जाडो, हरेक समय सनस्क्रिन प्रयोग गर्नुपर्छ । ‘फिजिकल’ वा जैविक सनस्क्रिन त छ महिने बच्चामाथिका सबैलाई लगाउन सल्लाह दिन्छिन् उनी । लेजर लगायत विभिन्न छालाको उपचार गरेकाहरूले त नियमित रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ । 

सूर्यबाट तीन थरीका परावैजनी विकिरणहरू पृथ्वीसम्म आइपुग्छन् । युभीए, युभीबी र युभीसी । युभीसी विकिरणहरू त्यति हानीकारक हुँदैनन् । तर युभीए र युभीबीबाट भने बच्नुपर्ने डा. भट्टराई बताउँछिन् । ‘युभीए विकिरण छालाको भित्री कोशिकासम्म पुग्न सक्छ । त्यस्तै युभीबीले छालाको रंग परिवर्तन गराइदिने हुन्छ,’ भट्टराई भन्छिन्, ‘ लामो समय घरबाहिर बस्दा छाला डढ्ने समस्या देखापर्न सक्छ । घामबाट मात्रै नभई मोबाइल, ल्यापटप, कम्युटर लगायतको स्क्रिनबाट आउने निलो प्रकाशले पनि छालामा घामले जत्तिकै असर पुर्‍याउँछ । यी विकिरणहरूबाट बच्नको लागि सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।’

डा. भट्टराईका अनुसार बजारमा दुई थरी सनस्क्रिन पाइन्छन् । एउटा फिजिकल वा जैविक सनस्क्रिन र दोस्रो रासायनिक वा अजैविक सनस्क्रिन । फिजिकल वा जैविक सनस्क्रिनहरू छालाको माथिल्लो भागमा रहने र यसले छालामा परेको परावैजनी विकिरणहरूलाई छालासम्म आउन रोक्ने भट्टराई बताउँछिन् । उनका अनुसार सनस्क्रिनले त्यस्ता विकिरणलाई फिर्ता पठाइदिन्छ । यस्ता सनस्क्रिनमा जिंक अक्साइड र टिटानियम अक्साइड हुन्छ । 

त्यस्तै रासायनिक वा इनअर्गानिक सनस्क्रिन छालाले सोस्छ र यसले परावैजनी विकिरणलाई पनि सोस्छ । उक्त विकिरणले छालामा असर गर्न पाउँदैन । यो सनस्क्रिनले किरणलाई तापमा परिणत गरी शरीरबाट बाहिर फ्याँकिदिन्छ ।

सनस्क्रिनमा एसपीएफ नम्बर दिइएको हुन्छ । एसपीएफ नम्बरले उक्त सनस्क्रिनको प्रभावकारिता दर्शाउँछ । एसियाली मुलुकको लागि ‘सन प्रोटेक्सन फ्याक्टर’(एसपीएफ) १५ देखि ५० सम्म भएको सनस्क्रिन प्रयोग गरिन्छ । कतिपय सनस्क्रिनमा ‘पीए रेटिङ’ दिइएको हुन्छ । यो ‘पीए रेटिङ’ परावैजनी विकिरणबाट पाइने सुरक्षाको स्तरबारे प्रयोगकर्तालाई सूचित गराउनको लागि राखिएको हुन्छ । 

त्यस्तै कतिपय सनस्क्रिनमा ‘पाबा’ हुन्छ । यसको प्रयोगले शरीरमा नकारात्मक असर गर्ने हुन्छ । छालामा एलर्जी हुने, आँशु आउने, पानीको फोका हुने हुन्छ । कतिपय जैविक सनस्क्रिनहरू प्रयोग गर्दा सेतो बनाउने हुन्छ । कतिपय सनस्क्रिन प्रयोग गरेपछि छालामाथि सेतो तह जम्ने पनि हुन्छ । अहिले बजारमा सेतो नदेखिने सनस्क्रिन पनि पाइन्छ । 

त्यसैले कुनै पनि सनस्क्रिन प्रयोग गर्नु पहिले छालासम्बन्धी डाक्टर वा विशेषज्ञहरूसँग परामर्श लिनुपर्ने डा. भट्टराई बताउँछिन् । ‘सनस्क्रिनले छालालाई घामबाट डढ्नबाट बचाउनुका साथै चायाँपोतो, मखिया आउनबाट रोक्छ । क्यान्सर हुनबाट पनि जोगाउन सक्छ । तर बजारमा पाइने सनस्क्रिन हचुवामा प्रयोग गर्दा छाला उमेरभन्दा पनि बढी देखिने, चाउरीपन हुने समस्या आउन सक्छ,’ उनी भन्छिन्, ‘त्यसैले कुनै पनि सनस्क्रिन प्रयोग गर्नुपूर्व डाक्टरको सल्लाह लिनुपर्छ । छालाको प्रकृति, मौसम अनुसार कुन सनस्क्रिन प्रयोग गर्ने भनेर डाक्टरले सल्लाह दिन सक्छन् ।’


Author

थप समाचार
x