स्वास्थ्य

‘फंगल इन्फेक्सन’ गर्मीमै किन हुन्छ ?

डा.अनुपमा कार्की |
जेठ ३०, २०७८ आइतबार ७:२ बजे

गर्मी महिनामा ‘फंगल इन्फेक्सन’ को समस्या धेरैमा देखिने गर्छ । यो एकप्रकारको ढुसीको कारण हुन्छ । शरीरको कापहरूमा गर्मी र पसिनाले ‘फंगल इन्फेक्सन’ गराउँछ । हात, खुट्टाको औलाको काप, तिघ्राको काप, महिलाहरूमा छातीको मुनिको कापमा गर्मीमा पसिनाको कारण यो समस्या देखिन्छ ।

कतिपयको शरीर फंगसप्रति संवेदनशील हुन्छ । सुगर भएका व्यक्तिहरूमा यसको समस्या झनै बढी देखिन्छ । उनीहरूको शरीरमा यो चाडै फैलिन्छ । त्यस्तै, मोटो शरीर भएकाहरूलाई पनि यसले सताउने गरेको पाइन्छ । त्यसबाहेक सुरक्षाकर्मीहरू जो बिहानदेखि बेलुकासम्म बुट र मोजा लगाएर बस्नुपर्ने हुन्छ । उनीहरूमा पनि यो समस्या बढी नै देखिन्छ । 


वर्षाको समयमा दिनभरी हिलोमा औला गाडेर काम गर्दा पनि हुन्छ । यसलाई बोलीचालीको भाषामा ‘हिलो खानु’ पनि भनिन्छ । वर्षामा खेतबारीमा लामो समय काम गर्नेहरूमा खुट्टाको कापमा सेतो देखिन्छ । धेरैलाई फंगल इन्फेक्सज वर्षामा मात्र हुन्छ भन्ने लाग्छ । जुन गलत हो । लामो समय पानी खेल्दा, हात, खुट्टाका कापहरू सफा र सुख्खा नराख्दा पनि यो समस्या निम्तिने गर्छ ।

‘फंगल इन्फेक्सन’ भएको कसरी थाहा पाउने ?
– शरीरको कापहरूमा चिलाउन थाल्छ 
– रातो खालको डाबर आउन थाल्छ
– खुट्टाको कापमा आउँदा, नङ बाक्लो र पहेँलो हुन थाल्छ

बच्‍न के गर्ने ?
– नुहाएपछि शरीरको काप राम्रोसँग पुछ्ने 
– उनीहरूले गर्मीमा सकेसम्म अलि खुल्ला, हावा छिर्ने जुत्ता लगाउने
– शरीरमा पानी र पसिनाहरू जम्‍न नदिने
– इन्फेक्सन हुन सक्ने ठाउँ सुख्खा राख्‍ने

भइसकेपछि के गर्ने ?
– कतिपय फंगल इन्फेक्सन सर्नसमेत सक्ने भएकाले लुगा, जुत्ता वा अन्य सामान साटेर नलगाउने
– बजारबाट जुन पाए त्यही मलम र पाउडर ल्याएर नलगाउने  
– इन्फेक्सन धेरै फैलिँदै गएमा छाला रोग विशेषज्ञलाई देखाउने


 


Author

थप समाचार
x