स्वास्थ्य

जुम्लामा एमबीबीएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय

इकागज |
जेठ ३०, २०७८ आइतबार १६:५४ बजे

काठमाडौँ : अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको  सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको हो । 

यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो । आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।


'कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ', उनले भने,'हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।' 

आधिकारिकरुपमा एक/दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताउनुभयो । उनले भने,'कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।' 


Author

थप समाचार
x