स्वास्थ्य

खोपमा खुरापात : सिभिल हस्पिटलमा पनि विरोध

अस्पतालले २५० जनालाई मात्र खोप दिने भएपछि आक्रोशमा महानगरवासी

इकागज |
जेठ ३१, २०७८ सोमबार १०:४८ बजे

काठमाडौँ : मिनभवनस्थित निजामति कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा कोभिड-१९विरुद्धको 'भेरोसेल' खोप लगाउन गएका काठमाडौँवासीले विरोध जनाएका छन् । अस्पताल प्रशासनले २५० जनालाई मात्र खोप लगाउन सकिने बताएपछि महानगरवासी विरोधमा उत्रिएका हुन् ।

अस्पताल परिसरमा बिहानैदेखि खोप लगाउनेको भिड लागेको छ । ६० देखि ६४ वर्ष उमेर समूहका मानिसहरूले खोप लगाउन पाउने भएपछि उनीहरू बिहानैदेखि लाइन बस्न पुगेका हुन् । सोमबारदेखि सिभिल अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल महाराजगंज र सैनिक अस्पतालमा खोप लगाइँदै छ । 


महानगरपालिकाले यसअघि रोकिएको खोप कार्यक्रम सोमबारदेखि मंगलबारसम्म सुचारु गर्ने निर्णय गरेको हो । खोप लगाउन पुगेका वडा-३१का कुमार बस्नेतले कोटामा मात्र खोप आउने भए खोप लगाउने मिति किन सार्वजनिक गरेको भन्दै विरोध जनाएका छन् । महानगरवासीले खोप पुग्दैन भने स्वास्थ्य मन्त्रालयलाई खबर गर्न र नागरिकले पाउने खोपको सुविधा नरोक्न आग्रह गरिरहेका छन् ।

'बिहानै आफ्ना मान्छेलाई बोलाएर टोकन बाडिसकेका छन्,' उनले भने,' हामी ९ बजे आइपुग्दा पनि खोप नपाउनु भनेको हामी उमेर पुगे पनि खोप पाउनबाट वञ्चित भएका छौँ ।'

त्यसैगरी लाइनमा बसिरहेकी रिता श्रेष्‍ठको आक्रोश पनि पनि बस्नेतको जस्तै छ । 'खोप लगाउन बिहान ८ बजे आको अहिले खोपको कोटा छ भनेको छ', श्रेष्‍ठले भनिन्,'उमेर समूहका सबै मानिसलाई खोप लगाउन नसक्ने भए आज किन सबैलाई बोलाइयो ।,'

दुई दिनअघि काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र काठमाडौँ स्वास्थ्य कार्यालयको संयुक्त बैठकले रोकिएको खोप कार्यक्रम आजदेखि सुचारु गर्ने सहमति गरेको थियो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुली सबैले खोप लगाउन पाउँने बताउँछन् । 

'रोकिएको खोप कार्यक्रममा पनि ६० देखि ६४ वर्ष उमेरका मानिसले लगाउँन पाउँछन,' पराजुली भन्छन्,'अन्य उमेर समूहका मानिस गएकाले प्रहरीले कडाइका साथ चेकजाँच गरिरहेको छ ।'

 


Author

थप समाचार
x