स्वास्थ्य

मानसिक स्वास्थ्य

अफिसले मानसिक समस्या नबुझ्दा कोही फायर्ड, कोही हेलाको पात्र

सुनीता साखकर्मी |
असार २, २०७८ बुधबार ६:५५ बजे

काठमाडौँ : ‘तिमीजस्तो इनर्जेटिक मान्छे किन अल्छी भएको ?’ विद्यालयको हरेक भर्चुअल मिटिङमा प्रधानाध्यापकले सोध्‍ने यही प्रश्नले अचेल ललितपुर नख्खुकी ३१ वर्षीया रिता (नाम परिवर्तन)लाई बिझाउन थालेको छ । किनकि उनी यस प्रश्नको उत्तर दिँदादिँदै थाकिसकेकी छन् । त्यसैले उनी अचेल प्रधानाध्यापकको हरेक प्रश्नहरू हाँसेरै टारिदिन्छिन् । 

‘मलाई जे भइरहेको छ, त्यो थुप्रैपटक प्रधानाध्यापकलाई बुझाइसकेकी छु, तर उहाँले बुझ्नुहुन्‍न,’ रिता भन्छिन्, ‘अब त भन्‍नै छोडिदिएँ ।’ रिता, पेशाले शिक्षिका हुन् । निजी विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई नेपाली बिषय पढाउँछिन् । निषेधाज्ञाको समयमा विद्यालय जान नपाएपछि उनी घरबाटै विद्यार्थीलाई अनलाइन कक्षा पढाइरहेकी छन् । रितासँग उनका पति र छोरा बस्छन् । पति बानेश्वरको कागज कारखानामा काम गर्थे । निषेधाज्ञाको कारण उनको काम खोसियो । 


बिहानबेलुका छाक टार्नेदेखि बेरोजगार पति र छोरा पढाउने जिम्मा पनि अहिले रितामाथि नै आइपुगेको छ । निजी विद्यालयबाट आउने तलबले त्यो जिम्मेवारी पुरा गर्न नसकेपछि रिता अचेल व्याकुल हुन थालेकी छन् । त्यसकारण विद्यार्थीलाई राम्रोसँग पढाउन पनि सकिरहेकी छैनन् । तोकिएको समयसीमामा विद्यार्थीको कोर्स पनि सिध्याउन सकिरहेकी छैनन् । उनले आफ्नो तनाव विद्यालयका प्रधानाध्यापकलाई सेयर गर्दा उनले त्यसलाई ‘अल्छीपना’को संज्ञा दिए । जसले थप उनलाई गाह्रो बनाउँछ । 

‘म अल्छि भएको होइन, मभित्र जुन तनाव छ, त्यसलाई व्यवस्थापन गर्न नसक्दा मलाई गाह्रो भएर काम गर्न नसकेको हुँ,’ रिता भन्छिन्, ‘प्रधानाध्यापकले मेरो समस्यालाई ‘अल्छि’ भएको भन्दै जिस्काउन थालपछि अहिले त अरु शिक्षकहरू मलाई अल्छि भनेर जिस्काउन थालेका छन् । त्यसले झनै मलाई काम गर्न गाह्रो भइरहेको छ ।’ 

भक्तपुर थिमिका १९ वर्षीय सरोज (नाम परिवर्तन) पेशाले स्वास्थ्यकर्मी हुन् । भक्तपुरको निजी अस्पतालमा दैनिक ९ देखि १० घण्टा काम गर्ने उनी केही समयदेखि काममा फोकस गर्न सकिरहेका थिएनन् । जसको कारण उनको काममा असर गरिरहेको थियो । आफ्नो कामबाट आफै सन्तुष्ट थिएनन् उनी । जसको कारण उनले कामबाट केही समय विदा लिएर आफुलाई समय दिन चाहे । १० दिनको लागि ‘विपश्यना’तिर जान चाहे । तर उनी काम गर्ने अस्पतालले उनको समस्या बुझेन । उल्टो उनले अफिसमा ‘विपश्यना जान्छु विदा दिनुहोस्’ भन्दा अफिसले ‘तिमीलाई १० दिनको विदा दिन सक्दैनौँ, जाने भए राजीनामै दिएर जाउ’ भनिदियो । 

‘मलाई शारीरिक रूपमा कुनै रोग लागेको भए अफिसले विदा दिन्थ्यो होला, तर मानसिक रूपमा अस्वस्थ हुँदा बिदा पाइनँ,’ सरोज भन्छन्, ‘स्वास्थ्य ठूलो कि काम ? यही प्रश्न मेरो मनमस्तिष्कमा घुम्न थाल्यो । त्यसपछि मलाई मेरो स्वास्थ्य ठूलो लाग्यो । त्यसैले मैले राजीनामा दिएरै विपश्यना गएँ ।’ 

उनी केही समयअघि मात्रै विपश्यनाबाट फर्किएका छन् । अहिले उनले फ्रेस फिल गरिरहेका छन् । काम छोडेर विपश्यना गएकोमा उनलाई कुनै पछुतो छैन । उनी भन्छन्, ‘हामीले जसरी शरीरिक स्वास्थ्यको ख्याल राख्छौँ, त्यसरी नै मानसिक स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ ।’ 

हुनतः यस्ता समस्याहरू वर्षौँदेखि हाम्रो समाजमा थिए । तर कोभिड–१९ महामारीपछि यस्ता समस्याहरू बढ्न थालेको मनोविश्लेषक बासु आचार्य बताउँछन् । अहिलेको समयमा एडजस्टमेन्ट डिसअर्डर, तीब्र तनाव, चिन्ता, निन्द्रा नलाग्‍ने, डर लाग्‍नेलगायत समस्याहरू बढेको उनले पाएका छन् । तर नेपालमा अझै पनि मानसिक स्वास्थ्यको बारेमा नबुझ्‍ने समस्या रहेको उनी सुनाउँछन् । 

हुनतः हरेक वर्ष विश्वभरि नै विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । विश्व मानसिक स्वास्थ्य संघले सन् १९९२ देखि विश्वभरि नै हरेक वर्ष विभिन्‍न नारासहित यो दिवस मनाउन थालेको छ । यसवर्षको नारा छ, ‘असमान संसारमा 
मानसिक स्वास्थ्य !’ 

यस नाराले संसारमा व्याप्त वर्गीय, जातिय एवं लैंगिक विभेदका कारण मानसिक रोगका सिकार भइरहेका मानिसहरुको मानसिक स्वास्थ्य उपचारको सुविधाहरूमा असमानता भएको तथ्यलाई उजागर गर्ने कोशिस गरेको छ । कोभिडले सिर्जना गरेको डर र बन्दाबन्दीको कारण पनि थुप्रै मानिसहरूको मानसिक स्वास्थ्यमा समस्या आएको छ । तर मानसिक स्वास्थ्यमा असर गरेकाहरूले उपचार भन्दा पनि विभेद र गाली पाइरहेको संघका महासचिव प्रोफेसर गेब्रियल इविबिजारो एमबीई जेपीले बताएका छन् । 

नेपालमा पनि हरेक वर्ष विश्व मानसिक स्वास्थ्य दिवस मनाइए पनि मानसिक स्वास्थ्यको बारेमा पर्याप्त बहस नभएको मनोविश्लेषक आचार्य सुनाउँछन् । उनका अनुसार नेपालमा शारीरिक रोगकै बारेमा त बहस कम हुन्छ, भने मानसिक रोगको बारेमा त झनै कम बहस हुने गरेको छ । नाराहरू केबल नारामै सीमित छन् । विश्वका अन्य देश शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य सम्बन्धि बहस गरेर पनि अहिले बहस पशुपन्छिको स्वास्थ्यसम्म पुगिसकेको छ । तर नेपाल शारीरिक र मानसिक स्वास्थ्यसम्म नै अलमलमा छन् । 

‘हामीलाई सानैदेखि जस्तो सुकै परिस्थितीमा एडजस्ट हुनुपर्छ भनिन्छ,’ आचार्य भन्छन्, ‘तर सबै परिस्थितीमा सबै जना मानिस एडजस्ट नहुन पनि त सक्छ । त्यसैले सबै मानिसलाईलाई एउटै डालोभित्र हालेर मूल्यांकन गर्नु हुन्‍न । शारीरिक स्वास्थ्य जति महत्वपूर्ण हुन्छ, मानसिक स्वास्थ्य पनि महत्वपूर्ण छ भनेर बुझ्नुपर्छ ।’ 

आफुसँग जोडिएका मानिसहरू यदि मानसिक समस्याबाट गुज्रिरहेका छन् भने यस्तो बेलामा घर परिवार, साथीभाई, सहकर्मीका साथै सिनियरहरूले पनि बुझ्नुपर्नेमा उनी जोड दिन्छन् । भन्छन्, ‘कुनै पनि कर्मचारीले काममा राम्रो नतिजा दिन सक्छ, जब उ शारीरिकका साथै मानसिक रूपमा पनि स्वस्थ हुन्छ । त्यसैले कुनै पनि उद्योग, वा संस्थाहरूले आफ्नो कर्मचारीको मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x