स्वास्थ्य

सात वर्षपछि मलद्वारको शल्यक्रिया

इकागज |
बैशाख २९, २०८१ शनिबार २१:४२ बजे

सांकेतिक फोटो

तम्घास - गुल्मीको रेसुङ्गा नगरपालिका–१४ का आशिष विक अहिले सात वर्षको भए । उनी जन्मदा बुबा बाबुराम र कमला विश्वकर्मा खुसी नहुने कुरै भएन तर उहाँको त्यो खुसी एकैछिन पनि टिकेन । त्यसको कारण थियो, छोराको मलद्वार नहुनु । 

“सन्तान जन्मेपछि को आमाबुबा खुसी नहोलान् र तर हाम्रो खुसी एकैछिनमा हरायो ।  कल्पनामै नसोचेको र कहिल्यै नदेखेको मलद्वारबिनाको आफ्नै बच्चा देखेपछि पीडा त हुने नै भयो”, बुबा बाबुराम भन्छन्“त्यही पीडाले सात वर्षसम्म छटपटिएर बस्नुपर्यो ।” 


उनका अनुसार छोरा जन्मेको केही दिन मै विश्वकर्मा दम्पत्तीले बच्चालाई पाल्पा मिसन अस्पताल पुर्याए । अस्पतालले तत्कालका लागि कम्मरबाट दिसा गर्ने बनाइदियो । आशिषलाई चार वर्षसम्म त्यसरी नै दिसा गराइयो । चार वर्षसम्म आशिष राम्रोसँग उठ्न पनि सकेनन् । “एकछिन पनि छोड्न मिलेन । दिसा–पिसाब सोहोरेरै चार वर्ष बित्यो । कोखबाट दिसा हुँदा त्यसैको चिसोले छोरो पटक–पटक बिरामी पथ्र्यो”, आशिषकी आमा कमलाले भनिन्,“तर हुर्काउनुको विकल्प नै थिएन । त्यसैले धेरै दुःख गरेर समय बित्यो ।”

घरको अवस्था बिग्रिँदैगएपछि बिरामी छोरा र श्रीमती छोडेर बाबुराम भारत गए ।  छोराको स्याहार र उपचारमा थप समस्या भएपछि उनी एकै वर्षमा घर फर्किनुपर्ने भयो । “यहाँ आएलगत्तै बच्चाको पीडा बढ्दै गएपछि काठमाडौँको कान्ति बाल अस्पताल पुर्यायौँ, एक पटक होइन तीन/तीन पटक । त्यहाँ पनि कुनै उपाय नलागेपछि दुई वर्षसम्म अरू ठाउँ लिने आँटै भएन । यतिञ्जेल छोरो छ वर्षको भइसकेको थियो”, बुबा बाबुरामले ति दिन सम्झिए ।  

त्यसपछि समस्या समाधान भयो

आशिष गत कात्तिकमा चिसोले सिकिस्त बिरामी परेपछि गुल्मी अस्पताल तम्घास लिएको बताउने आमा कमला त्यही बेला नेपाल रक्तदाता स्वयम्सेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डेयसँगको भेटले छोराको समस्या समाधान भएको बताउँछिन्।  “त्यही भेट छोराका लागि नयाँ जीवन दिने आधार बन्यो । उसको स्वास्थ्य र हाम्रो अवस्था देखेर पाण्डेयले सहयोग संकलन गरी उपचार गरिदिने आश्वासन दिनुभएको थियो”, कमला भन्छिन्,“अभियान सुरू भएको तीन महिनामै केही रकम संकलन भएपछि गत फागुनमा आशिषलाई काठमाडौँ मोडल अस्पताल ल्याएर उपचार गर्यौँ । पहिलो शल्यक्रिया सफल भयो ।”

आशिषको वैशाख दोस्रो साता दोस्रो शल्यक्रिया पनि भएको छ । रक्तदाता समाजका अध्यक्ष पाण्डेयले समाजमा आवद्ध सबै पदाधिकारी तथा सदस्य, कारागारका कैदीबन्दी, महेन्द्र मावि, विभिन्न क्लबलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेपछि उपचार सम्भव भएको बताए । काठमाडौँमा सामाजिक अभियान्ता केदारप्रसाद न्यौपाने र मेघा तिमल्सेनाले ठूलो आर्थिक सहयोग गरेर बच्चालाई अहिलेको अवस्थामा ल्याएको पाण्डेयले बताए । आर्थिकरूपमा कमजोर भएकाले उपचार नगरी सात वर्षसम्म कष्टकर जीवन बिताएका आशिषको उपचारमा रु साढे चार लाख खर्च भएको उनको भनाइ छ । 

“कैयौ पटक अस्पताल पुगेर फर्कियौँ । अहिले बल्ल बुझे पैसा नभएर उपचार नभएको रहेछ”, आमा कमलाले भनिन्, “गुल्मी अस्पतालमा पाण्डेय सरलाई नभेटेको भए छोराले नयाँ जीवन पाउँथेन ।”

आशिषको चौथो चरणको उपचार बाँकी नै छ । त्यसैले अहिले पनि केही समस्या बाँकी रहेको बुबा बाबुरामले बताए ।  “अहिलेसम्मको उपचारले छोराले नयाँ जीवन पाएको महसुस गरेका छौँ । सहयोगी सबैलाई आधार छ । अस्पतालले रकम जुटाएर छिटोभन्दा छिटो शल्यक्रिया गरे बच्चा सामान्य जीवनमा फर्कनसक्ने बताएकाले सबैसँग सहयोगको याचना गरिरहेका छौँ । पैसा जुटेपछि चाँडै थप उपचारका लागि अस्पताल जान्छौँ”, उनले भने । 

रक्तदाता समाजका संस्थापक अध्यक्ष नवराज मरासिनीले आफूहरूले पनि सहयोगका लागि पहल गरिरहेका बताए । महेन्द्र माविका प्राचार्य तथा समाजका सल्लाहकार कृष्ण मरासिनीले उपचारपछि परिवारले विद्यालयमा भर्ना गरे सबै खर्च व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको छ । “उपचारमा सहयोग गरेकै हौँ अब विद्यालय भर्ना गरेमा सबै खर्च विद्यालय नै बेहोर्ने व्यवस्था गर्छौ”, उनले भने । रासस


Author

थप समाचार
x