स्वास्थ्य

डा. गोविन्द केसीले तोडे अनशन

इकागज |
जेठ ३, २०८१ बिहीबार १७:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- डा. गोविन्द केसीले अनशन तोडेका छन् । वैशाख २९ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामासहित चार बुँदे माग राख्दै उनले आमरण अनशन सुरु गरेका थिए । 

पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो । 


त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औं अनशन तोडेका हुन् । उनले सरकारले आफ्नो अनशन बेवास्ता गरेको भन्दै अनशन तोडेको बताएका छन् । 

केसीले राखेका चार बुँदे माग:

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।

२. सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि - उपचारको व्यवस्था गरियोस् ।

३. जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी - गेटामा तुरुन्त प्रतिष्ठान संचालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज/प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न।

४. कार्की आयोगले दोषी ठहऱ्याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ । 


Author

थप समाचार
x