Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

स्वास्थ्य

काठमाडौँमा एक लाख २५ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप लगाइँदै

इकागज |
जेठ १३, २०८१ आइतबार १४:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले जेठ १३ देखि २६ जेठसम्म देशभर पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्दैछ ।

विसं २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म  देशभर जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरूलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी गरेको हो ।


त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरू आईपीभी खोपबाट पाउनबाट बन्चित थिए । खोपबाट बन्चित भएका बालबालिकाहरू पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको हो ।

सोही अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय काठमाडौँले त्यसबेला छुटेका १ लाख २५ हजार बालबालिकालाई यो खोप दिने तयारी गरेको छ ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जिल्लाको ७८३ खोप केन्द्रमार्फत १ हजार ४२१ विद्यालयमा गएर खोप दिइने बताए । उनले त्यसका लागि २७६ स्वास्थ्यकर्मी र ५५६ जना स्वयंसेवक परिचालन गरिएको समेत जानकारी दिए ।

काठमाडौँका जनस्वास्थ्य अधिकृत तुलसीप्रसाद सुवेदीले अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनले यसपटक विद्यालय तहका बालबालिकाहरूलाई उमेर समूहका बालबालिकाहरू रहेकोले १२५ जनासम्म विद्यार्थी रहेका विद्यालयमै खोप केन्द्र राख्ने र त्यो भन्दा कम भएका विद्यालयका बालबालिकालाई अन्यसँग समन्वय गरेर खोप दिइने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर, दक्षिण एशियाली मुलुकहरू पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण यो रोगको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् ।

‘त्यसै काण कारण हामीले यी बीचमा छुटेका बालबालिकाहरूलाई खोप दिने अभियान सञ्चालन गर्न थालेका हौँ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने । उनले खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी) को ठूलो सहयोग रहेको बताए ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले आईपीभी खोप सुरु गरिसकेपछि बीचमा यो खोपको अन्तराष्ट्रिय रुपमा अभाव भएको भन्दै बीचमा छुटेका बालबालिकाहरूलाई विद्यालय मै गएर र बाँकीलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा बोलाएर दिइने जानकारी दिए । उनले भने, ‘यो अभियान १३ जेठ देखि दुई सातासम्म अर्थात् २६ जेठसम्म सञ्चालन हुनेछ । र, सो अवधिमा कतिपय स्थानीय तहले आफ्नो समय मिलाएर अभियान सञ्चालन गर्नेछन् ।’

डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकाहरूलाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आईपीभी लिइसकेको र पछि जन्मेर सो खोप लिइसकेकाहरूले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।

‘सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ । हाम्रा स्वास्थ्यकर्मीहरूले लगाई राख्नु पनि भएको छ तर बीचमा छुटेको समूहलाई यसपटक समावेश गर्न खोजेका हौँ,’ डा, गौतमले भने ।

यसैबीच महाशाखाका निर्देशक डा. लालले अभियानका लागि सरकार तथा दातृ निकायले ३२ करोड बढी छुट्याएको जानकारी दिए ।

नेपालमा २०७१ सालदेखि आईपीभी खोप सञ्चालन गरिएको हो । बीचको दुई वर्ष रोकिए पनि त्यसपछिका वर्षहरूमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ ।

अभियानका लागि ३४ हजार ३५४ खोप केन्द्र तयार गरिएको छ । यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x