स्वास्थ्य

सरकारको स्वास्थ्य बीमा गराउने बीमक सहयोगीले पाएनन् पारिश्रमिक

स्वास्थ्य बीमा बोर्ड भन्छः जिल्ला र प्रदेशको भौचर ट्याली गर्दा ढिला भयो

अतिन आचार्य |
जेठ २९, २०८१ मंगलबार १३:४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले खटाएको देशैभरका ७५३ वटा स्थानीय तहका स्वास्थ्य बीमा दर्ता सहयोगीहरूलाई प्रोत्साहन स्वरूप पारिश्रमिक नदिएको पाइएको छ । तीन महिनामा पाउनुपर्ने रकम सरकारको लापरबाहीका कारण करिब ८ हजार बढी बीमा दर्ता सहयोगीले पाउन नसकेका हुन् ।

नागरिकहरूबाट तीन महिनामा उठेको कुल रकम बराबरको १० प्रतिशत बीमक सहयोगीले पाउने गरेका छन् । पछिल्लो केही महिना यता भने बीमा गराउन खटिएका कर्मचारीले समयमा पारिश्रमिक पाउन सकेका छैनन् । बीमक सहयोगीले स्थानीय तहबाट जम्मा गरेको कुल रकमबाट दश प्रतिशत पारिश्रमिक पाउने गरेका हुन् ।


नेपाल सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत यो कार्यक्रम रहेको छ । सरकारले सबै नागरिकलाई बीमाको पहुँचमा पुर्‍याउन बीमा कार्यक्रम लागू गरेको छ । तर बीमा गराउन खटिएका कर्मचारीले एक वर्षदेखि पारिश्रमिक पाएका छैनन् ।

गत मङ्सिरदेखि नेपाल सरकारको नीति अनुसार वडा-वडा तथा घर-घरमा गएर बीमा गर्न प्रोत्साहन गर्नेहरूले आफ्नो पारिश्रमिक नपाएको बीमक सहयोगीहरूले गुनासो गर्न थालेका छन् ।

भक्तपुर सुर्यविनायक नगरपालिका एक बीमक सहयोगीले सरकारको तर्फबाट नागरिकलाई बीमामा आबद्ध हुन आग्रह गरे पनि हामीले पारिश्रमिक नपाएको गुनासो गरे ।

‘वडा कार्यालयमा बसेर भनौं वा स्थानीयको घर-घरमा पुगेर बीमा गर्न अनुरोध गरिरहेका छौ,’ उनले भने,’  नेपाल सरकारको बीमा कार्यक्रममा सहभागी आग्रह गरिरहेका छौँ । तर हामीले आफ्नो पारिश्रमिक भने पाउन सकेका छैनौँ ।‘

स्थानीयलाई बीमा गर्दाका फाइदाहरूको बारेमा हामीले जानकारी दिने गरेको उनले बताए । घाम-पानी नभनी टोल-टोलमा बीमा गर्न प्रोत्साहन गर्नेहरू पारिश्रमिकबाट वञ्चित भएको उनको भनाइ छ ।  

‘सरकारले बीमामार्फत नागरिकलाई सहुलियत प्रदान गरेको जस्ता अन्य सुविधाहरूको बारेमा बीमा दर्ता सहयोगी भएकाले जानकारी गराइरहेका छौ,’ उनले थपे,’ हामीले सरकारले समयमा पारिश्रमिक उपलब्ध नगराउँदा काम गर्न गाह्रो भइरहेको छ ।‘

सुनसरी रामधुनी नगरपालिकामा खटिएका अधिकांश स्वास्थ्य बीमक दर्ता सहयोगीले पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गरेका छन् । एक सहयोगीले भने,’ हामीले पारिश्रमिक नपाएको झण्डै दश महिना भयो । स्थानीय तहको स्वास्थ्य शाखाबाट सम्पूर्ण रकम पठाए पनि हामीले अहिलेसम्म पाउन सकेका छैनौं ।‘

त्यसैगरी,  स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जिल्ला र प्रदेशभरीको रेकर्ड केन्द्रसम्म नआइसकेकाले बीमा सहयोगीले पारिश्रमिक पाउन नसकेको जानकारी दिइन् । यसपटक अरुबेला जस्तो छिटो नभएर ढिलो भएको उनको भनाइ छ ।

केही सहयोगीको भदौ र मङ्सिरदेखिको रकम बाँकी रहेको उनले जानकारी दिइन् । ‘बीमा गर्नेहरूको हिसाब मिलेन भने सहयोगीले पाउने पारिश्रमिक ढिला हुन जान्छ,’ उनले भनिन्,’ बीमा सहयोगीहरूले असार भित्रमा पारिश्रमिक पाउँछन् ।‘

स्वास्थ्य बीमा बढी गर्न सकेको अवस्थामा सहयोगीले बढी पारिश्रमिक पाउने गरेको उनले बताइन् । ‘उहाँहरूले बैंकको भौचर, फारम जिल्ला र प्रदेशमा बुझाएपछि र रेकर्डमा राखिसकेपछि मात्र प्रक्रिया अगाडि बढ्छ,’ उनले अगाडि थपिन् । मात्र अन्य पक्रिया फारम र भौँचर ट्याली गर्नु पर्ने भएकाले बेला-बेलामा ढिला हुने गरेको उनले बताइन् । 

कडेलका अनुसार देशभरीको सबै स्थानीय तहमा गरी करिब ८ हजार बीमा सहयोगीहरू छन् । कोशी प्रदेशमा सबै भन्दा बढी बीमा सहयोगी रहेको उनले जानकारी दिइन् ।

धेरै स्वास्थ्य बीमा गर्नेहरू कोशी प्रदेशमा बढी रहेको कडेलले जानकारी दिइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x