स्वास्थ्य

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिन्छ : मन्त्री यादव

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १२:२७ बजे

फाइल फोटो

चितवन - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताए । 

अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताए । 


मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उनले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताए । 

 मन्त्री यादवले भने, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छाैँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौँ ।” उनले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहत पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताए । 

बीमा कार्यक्रमलाई मन्त्रालय मातहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिए ।  जनशक्ति अभाव भएका अस्पतालहरूमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उनले बताए । 

मन्त्री यादवले भने, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरूले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ छ ।
रासस


Author

थप समाचार
x