स्वास्थ्य

सिरहाको बर्धमान अस्पतालमा पाठेघर खस्‍ने रोगको निःशुल्क शल्यक्रिया

इकागज |
असार १०, २०८१ सोमबार १४:३८ बजे

सिरहा- सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा अस्पतालले भोलि ११ गतेबाट शिविर सञ्चालन गर्न लागेको हो ।

अझै पनि गाउँघरमा पाठेघरको समस्याबाट पीडित रहेकाले निर्देशनालयले आफूसँगको साझेदारीमा पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविर आयोजना गर्न लागेको अस्पतालका व्यवस्थापक डाक्टर शारीका गोइतले जानकारी दिइन् ।  


‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन् । आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको दिन्छौं,’ उनले भनिन्, ‘यो पनि एउटा रोग नै हो, त्यसैले हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौं ।'

उनले औषधि, अस्पताल बस्दा बिरामीका लागि खानासमेत उपलब्ध रहेको बताइन् । बिरामीको शलर्यक्रिया स्त्री तथा प्रशुतिरोग विशेषज्ञद्वय डा.शारीका गोइत र तेजशंकर यादवको टिमले गर्ने छ ।

सुत्केरी भएको केही दिनपछि नै भारी बोक्ने जस्ता शारीरिक श्रमको काम गर्दा प्रायः ३५ वर्षमाथिमा महिलाहरूमा यस्तो समस्या देखिने गरेको छ । नेपालमा सरदर ६०-६५ प्रतिशत महिला यो रोगबाट पीडित हुने गरेका छन् ।


Author

थप समाचार
x