स्वास्थ्य

तेस्रो पटक भेरी अस्पतालको मेसुमा डा. प्रकाश थापा

इकागज |
असार २१, २०८१ शुक्रबार १७:३४ बजे

काठमाडौँ- नेपालगन्जस्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।

वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. थापाले तेस्रो पटक निमित्त मेसुको जिम्मेवारी सम्हालेका हुन् । यसअघि पनि उनी २०७५ जेठ ४ देखि असोज ५ गतेसम्म मेसु भइसकेका छन् । त्यसैगरी दोस्रो कार्यकाल २०७६ फागुन ८ गते देखि २०७८ असोज १७ गतेसम्म मेसु भएका थिए ।


कोभिड-१९ को समयमा उनले अस्पतालमा उपचार व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका थिए । जिल्लामा कोभिड संक्रमितको न्यूनीकरणमा अहम् भूमिका खेलेका थिए ।

तीन वर्ष अघि डा. थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा  अस्पतालमा विशिष्टिकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेला तत्कालीन मेसु डा.थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए ।

अस्पतालमा उनको कुशल नेतृत्वले विषम परिस्थितिमा साथ, हौसला, सहजीकरण र नवीन सोचले सम्भव भएको थियो । कोभिडको निम्ति द्रुत गतिमा कर्मचारी भर्ना, आइसीयू तथा एचडीयू स्थापना, अक्सिजन ट्याङ्क जडान, अस्पतालको भौतिक संरचना निर्माणका लागि बजेट व्यवस्थापनमा उनले मुख्य भूमिका खेलेका थिए ।

उनकै पालामा अस्पताल परिसरमा रहेका औषधि पसलहरू खाली गरी अस्पतालको आफ्नो फार्मेसीको स्तरोन्नती भएको थियो । अस्पताल अगाडिको भागमा रहेका विवादित र अव्यवस्थित सटरहरू भत्काई दुई वटा गेट सहितको सम्पूर्ण अस्पताल देखिने गरी पर्खाल निर्माणकार्य अगाडि बढाइएको थियो ।

नेपालगन्जस्थित भेरी अस्पताल पश्चिम क्षेत्रकै ठूलो सरकारी अस्पताल हो । कर्णालीका अधिकांश जिल्लाका बिरामीहरू सोही अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । यसअघि भेरी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा डा. अजित रायमाझी रहेका थिए ।


Author

थप समाचार
x