स्वास्थ्य

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल

घाँटीमा अड्किएको १८ सेन्टिमिटर लामो ब्रस निकालियो

बिक्रम खड्का |
असार ७, २०७८ सोमबार १५:१९ बजे

बुटवल : खाना खाँदा घाँटीमा खाना अड्किने, मासु खाँदा हड्डी अड्किने जस्ता समाचार त सुनिरहेकै हो । तर दाँत माझ्‍ने ब्रस‍‍ नै घाँटीमा गएर अड्किएको समाचार अलि नौलो हो । रुपन्देहीको रुद्रपुरमा पनि यस्तै नौलो घटना घट्यो । घटना रुद्रपुर हरैयाका २४ वर्षीय पुरुषको हो ।

उनी आ‍इबार बिहान ६ बजेतिर ब्रस गर्दै थिए, अचानक ब्रस उनको घाँटीभित्रै पस्यो । त्यत्रो ब्रस घाँटीभित्र पस्यो भने कसलाई पो असहज हुँदैन र ? उनी पनि आत्तिए । नजिकै स्थानीय मेडिकलमा लगेर एक्सरे गरियो । तर एक्सरेमा केही पनि देखिएन । बिरामीलाई झनपछि झन दुखाइ बढ्दै गयो । घरपरिवारका सदस्य पनि आत्तिए । बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्या‍इयो ।


अस्पतालमा उनको खाना खाने नलिको इण्डोस्कोपी गरियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विष्णु शर्माले भने, ‘इण्डोस्कोपी गर्दा खाना खाने नलिमा छातिको बीच भागमा ब्रस अड्किएको देखियो ।’

त्यसपछि बिरामीको अवस्थाको बारेमा आपन्तलाई जानकारी गराएर चिकित्सकहरूले चिरफार नै नगरी शल्यक्रिया सुरु गरे । चिकित्सहरूका अनुसार उनको शल्यक्रिया जटिल त थियो नै त्यसमा पनि असहज प्रकृतिको थियो । घाँटीबाट छिरेको ब्रस छातीको बीच भागमा पुगिसकेकोले केही ढिलो भएको भए त्यो पेटसम्म पनि पुग्न सक्थ्यो, या आन्द्रा छेडेर शरीरभित्रै आन्द्रा बाहिर पनि जानसक्थ्यो । यो सबै कुरा बिरामीका आफन्तलाई ब्रिफिङ‍ गरिएको थियो । सोहीअनुसार बिरामीका आफन्तले पनि उपचार अगाडि बढाउन आग्रह गरे ।

राइड ओसोफ्यागोस्कोपी प्रविधिबाट उनको शल्यक्रिया गरिएको हो । चिकित्सकहरूका अनुसार यो प्रविधिमा बिरामीलाई बेहोस गराइन्छ तर चिरफार गर्नुपर्दैन । मुखबाट क्यामेरा जडित पाइप छिराएर त्यसको सहायताले समातेर निकाल्ने प्रविधिलाई ओसोफ्यागोस्कोपी भनिन्छ । उक्त प्रविधिको प्रयोग गरेर चिकित्सकको टोलीले बिरामीको घाँटीबाट १८ सेन्टिमिरटर लामो ब्रस निकालेको हो । 'यो शल्यक्रिया सफल नहुन पनि सक्थ्यो र तत्कालै चिरफार गर्नपर्ने पनि हुन सक्थ्यो । सोही अनुसार सर्जनहरूलाई पनि स्ट्याण्डबाई राखिएको थियो । चिरफार गर्नुपरेन' डा.शर्माले भने ।

चिकित्सकहरू डा. विष्णु शर्मा, नेत्रबहादुर थापा, दिपेन्द्र कसौधनसहितको टोलीले सफल शल्यक्रिया गरेको हो । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x