स्वास्थ्य

ढलमा पोलियो भाइरस भेटिएपछि काठमाडौँमा आजदेखि पोलियो थोपा खुवाउने

इकागज |
साउन ९, २०८१ बुधबार १०:२४ बजे

काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रमा आजदेखि ५ वर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरूले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने महानगरले जनाएको छ । नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्ने काठमाडौँ महानगरको स्वास्थ्य विभागले महानगरवासीलाई आग्रह गरेको छ । 


वातावरणीय निगरानीका क्रममा भएको नमूना संकलन र प्रयोगशाला परीक्षणका क्रममा काठमाडौँको टुकुचा र बागमती दोभानमा वागमती नदीतर्फको खण्डबाट (ढलबाट आएको  पानी) डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएपची महानगरले पोलियो अभियान शुरु गरेको हो ।

२०८१ जेठ १३ गते ढलबाट आएको पानीको नमूना लिइएको र यसको रिपोर्ट २०८१ असार २९ गते आएको महानगरले जनाएको छ ।  प्रयोगशाला परीक्षणमा यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको हो । 

यस अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकासहितको टोली परिचालन हुनेछन् ।  राष्ट्रिय जनगणना २०७८ अनुसार काठमाडौँ महानगरपालिकाभित्र २ लाख ३८ हजार ९६६ घर छन् । यी घरहरूमा ५ बर्षमुनिका करिब ६३ हजार ५६ जना बालबालिका रहेको अनुमान गरिएको छ । 

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वडा नं. ६ मा ६ हजार १२ जना बालबालिका छन् । सबैभन्दा कम वडा नं. १ मा ४६२ जना छन् । 

पोलियो खोप ६ हप्ता, १० हप्ता र १४ हप्ता गरी ३ पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन – ओपीभी) खुवाइन्छ । यस्तै १४ हप्ता र ९ महिनाको उमेरमा सुइबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन – आइपीभी) दिइन्छ । 

बालबालिकाहरूका अतिशीघ्र लुलो पक्षाघातका लक्षण देखिए तत्काल खबर गर्न महानगरपालिकाले अनुरोध गरेको छ । यसमा बालबालिकाका कुनै पनि अङ्ग तत्कालै लुलो हुने, एक भाग नचल्ने जस्ता लक्षण हुन्छन् । पोलियोको असर ५ बर्षमुनिका बालबालिकामा धेरै हुन्छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई हुन सक्ने, विभागले बताएको छ । 

पोलियो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । ५ वर्षमुनिका बालबालिका सबैभन्दा धेरै जोखिममा हुन्छन् । पोलियोको भाइरस दुषित खाना र दुषित पानीबाट सर्छ ।


Author

थप समाचार
x