स्वास्थ्य

रौतहटमा ४७४ एचआईभी संक्रमित

इकागज |
साउन ११, २०८१ शुक्रबार १४:४९ बजे

रौतहट- पछिल्लो समय भारतीय सहरहरूबाट सर्दै गर्दा रौतहटमा एचआईभी एड्स संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।

त्यसअघिको आर्थिक वर्ष २०७९ ।०८० मा  एचआईभी एड्स संक्रमितको संख्या मात्र ३३२ रहेको थियो । एक वर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआईभी एड्स संक्रमित बढेको संक्रमितहरूको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छन् ।


सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआईभी एड्स संक्रमित देखिएका छन् । राजपुरमा ६३ जना संक्रमित रहेको संयोजक मगरले जानकारी दिइन् । दोश्रोमा इशनाथ नगरपालिकामा अहिलेसम्म ५२ जना संक्रमित रहेका छन्  ।

चन्द्रपुर नगरपालिकामा अहिलेसम्म ३७ जना संक्रमित रहेका छन् । यसैगरी गौर नगरपालिकामा ३५, गुजरामा २० जना, फतुवा बिजयपुरमा १०, कटहरियामा २०, बृन्दावनमा १०, गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिइन् । यस्तै माधव नारायण नगरपालिकामा १२, गरुडामा १९, देवाही गोनाहिमा २०, मौलापुरमा १५, बौधीमाइमा २०, परोहामा २५, राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१, दुर्गाभगबती गाउँपालिकामा २० तथा अन्य ३४ गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङ्कमा उल्लेख छ ।

२०७१ साल यता जिल्लामा एचआईभी एड्स रोगका कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआईभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन्  ।

एचआईभी एड्स संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न तथा अस्पतालमा आउनसकेमा अनाहक मृत्युबाट जोगिन सक्ने चिकित्सकको भनाइ छ ।

जिल्लाको दक्षिणी भेग भारतीय सीमासँग जोडिएका राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीका लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जाने गरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेका कारण एचआईभी संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई छ ।

शिक्षा र चेतनाको अभावले अति विपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरू सुरक्षाको साधन अपनाउन लापरबाही गरेका कारण पनि संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।


Author

थप समाचार
x