स्वास्थ्य

देशभर फैलियो हैजा, के-के हुन् लक्षण र रोकथामका उपाय ?

इकागज |
साउन १६, २०८१ बुधबार ६:४० बजे

काठमाडौँ- यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए । 


अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ । 

सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

'हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्', उनले भने । 

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

हैजा के हो, कसरी लाग्छ ? 
यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै  उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ । 

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ । 

लक्षणहरू
संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् :

– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु 
– आँखा गढ्नु, छाला चाउरी पर्नु 
– धेरै तिर्खा र थाकान लाग्नु 
– धेरै कमजोरीका कारण वेहोस हुनु 

रोकथामका उपाय 
– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी    अपनाउने 
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने  
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने 
– पानीको मुहान सफा राख्ने 
– शौचालयमा मात्र दिसापिसाब गर्ने 

उपचार 
– पुनर्जलीय झोलको सेवन गर्ने 
– चिकित्सकको परामर्श लिने 

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ । 


Author

थप समाचार
x