स्वास्थ्य

स्वास्थ्य कार्यालय नुवाकोटको स्टोरमा म्याद गुज्रिएका तीन करोड हाराहारीका औषधि

इकागज |
साउन २२, २०८१ मंगलबार २०:४५ बजे

सांकेतिक फोटो

नुवाकोट - स्वास्थ्य कार्यालय नुवाकोटले पछिल्लो १०  वर्षदेखि म्याद सकिएका औषधिजन्य सामग्री नष्ट गर्न बजेट अभावले भण्डारण कक्ष (स्टोर)मा राख्न बाध्य भएको छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामार्फत बिरामीलाई निःशुल्क वितरण गर्न कार्यालयले खरिद गरेको र माथिल्ला निकायबाट प्राप्त गरेका औषधि उपभोग भएसँगै म्याद सकिएर थन्किएको कार्यालयका जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले जानकारी दिए । 


उनका अनुसार म्याद सकिएका औषधि तोकिएका मापदण्डअनुसार नष्ट गर्ने प्रक्रिया पूरा गर्न बजेट अभावमा पछिल्लो १० वर्षदेखि स्टोरमा थन्किएको छ ।

“औषधि नष्ट गर्ने दुई विधि छन् । त्यसमा भएका रासायन हटाइ तातो भाडोमा जलाएर खरानी बनाउने अथवा त्यसलाई केलाएर धुलो बनाइ सिमेन्टसँग मिसाएर जमिनमा गाड्नुपर्छ,' जनस्वास्थ्य अधिकृत आचार्यले भने । 'कार्यविधिअनुसार नष्ट गर्न बजेट नहुँदा विगतदेखि थन्किँदै आएका छौँ ।'

म्याद सकिएका औषधिजन्य सामग्रीमा विपद् र महामारीमा प्रयोग गर्ने औषधि धेरै छन् । कोभिड–१९ र भूकम्पको समयमा वितरण गर्न प्राप्त भएको तर, उपभोग नहुँदा म्याद गएका औषधि हालसम्म स्टोरमा थन्किएका छन् ।

बागमती प्रदेश सरकार मातहत पर्ने स्वास्थ्य कार्यालयमा पछिल्ला वर्षमा म्याद सकिएका औषधिको परिणाम वृद्धि हुँदै गएको छ । छोटो अवधिको म्याद रहेका र जिल्लाबाट माग नभई प्राप्त भएका औषधि खपत नहुँदा म्याद सकिएर थन्किने दर बढेको हो ।

विगत एक दशकदेखि जम्मा भएका ती औषधि ६० पोकाभन्दा बढी छन् । उक्त औषधिको खरिद लागत मूल्य यकिन नभए पनि तीन करोड हाराहारीमा रहेको अनुमान छ । अब ती औषधि नष्ट गर्न करीब २० लाख बजेट आवश्यक पर्ने जनस्वास्थ्य अधिकृत आचार्यको भनाइ छ ।

कार्यालयको स्टोर साँघुरो र अव्यवस्थित छ । सोही स्थानमा म्याद गुज्रिएका औषधि गोदाम गर्दा सेवा प्रवाह चित्त बुझ्दो नदेखिएको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र बहादुर पण्डितको भनाइ छ ।

जिल्लाका स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको अनुगमन र औषधि वितरण प्रभावकारी बनाउन निर्देशन दिनुपर्ने कार्यालयको आफ्नै स्टोर भने अव्यवस्थित हुनु अस्वभनीय देखिन्छ । एउटै स्टोरमा म्याद सकिएका र बिरामीलाई निःशुल्क वितरण गर्न जिल्लाका पालिका र स्वास्थ्य एकाइलाई उपलब्ध गराउने औषधि राख्नु कानुनी र नैतिकताले नमिल्ने उनको सुझाव छ । 
 


Author

थप समाचार
x