केएमसीले यौनकर्मी, एचआइभी पीडित र अनाथहरूको निःशुल्क उपचार गर्ने
काठमाडौँ : काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरूलाई निःशुल्क उपचार गर्ने भएको हो ।
घरेलु महिला हिंसा, यौन हिंसा, मानब बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएपछि यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरूले निःशुल्क उपचार पाउने भएका हुन् ।
‘केएमसीले अब माइती नेपालको सिफारिसमा यौनकर्मी, एचआइभी पिडित तथा अनाथको निःशुल्क उपचार गर्नेछ,’ केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले भने ।
सम्झौता अनुसार केएमसीले वार्षिक ५० लाख बराबरको निःशुल्क उपचार सेवा दिनेछ । केएमसीले औषधी वाहेक अस्पतालबाट प्राप्त हुने जुनसुकै प्रकारका स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्ने छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष डा. सुनिल शर्मा तथा माइती नेपालका तर्फबाट अध्यक्ष अनुराधा कोइरालाले हस्ताक्षर गरेका छन् ।
डा. शर्माले महिला हिंसा, यौन हिंसा, मानव बेचविखन कार्यमा राष्ट्रको लागि योगदान पुर्याउँदै आएको माइती नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै यो सम्झौताले यौनकर्मी महिलाको स्वास्थ्य सुरक्षा, एचआइभी पिडीत र अनाथब बालबालिकाको उपचारमा टेवा पुग्ने विस्वास लिएको बताए ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले समाजमा विभिन्न कारणले हिंसाको शिकार भएका महिला तथा बालबालिकाहरुको उपचार तथा पुर्नस्थापनामा केएमसीले देखाएको तत्परता अनुकरणीय भएको बताइन् । राज्यले समेत उपेक्षा गरेको क्षेत्रमा निजी क्षेत्रबाट देखाएको सहकार्यले माइती नेपालको अभियानमा सहयोग पुग्ने तथा हजारौं यौनकर्मी, एचआइभी पिडित तथा अनाथ बालबालिकाको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विस्वास कोइरालाको छ ।
विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका समाजसेवी डा. शर्माको केएमसीमा प्रवेश गरेसँगै केएमसीले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसअघि गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको केएमसीले चाँडै चिकित्सा सेवाका विशिष्ट सेवाहरु समेत सञ्चालनमा ल्याउँदैछ । नेपालमै पहिलो पटक ‘रोवटिक सर्जरी’ थाल्ने घोषणा गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया