स्वास्थ्य

एघार लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

इकागज |
भदौ २३, २०८१ आइतबार १५:४३ बजे

तस्विरः फाइल फोटो

गण्डकी- गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए ।

सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिकलाई सरकारले निःशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपलब्ध गराएको छ । प्रदेशभित्र महिला स्वयंसेविकाका चार हजार २३ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइएको उनले जानकारी दिए ।


महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रदेश सरकारले ५० प्रतिशत र सङ्घीय सरकारले ५० प्रतिशत बीमाबापतको रकम भुक्तानी गर्दै आएको छ । सरकारले प्रदेशभित्रका ‘क’ वर्गका अपाङ्गता भएका पाँच हजार एक सय ४५ परिवारका साथै एचआइभी सङ्क्रमित दुई हजार एक सय ४७ परिवारलाई पनि निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ ।

रु एक लाख बराबरको स्वास्थ्य बीमाका लागि पाँच जनासम्मको परिवारले रु तीन हजार पाँच सय बुझाउनुपर्ने र त्यसभन्दा बढी सदस्यको हकमा प्रतिथप सदस्य रु सात सय बुझाउनुपर्छ ।

बीमालाई प्रभावकारी बनाउँदै त्यसको दुरुपयोग नहोस् भन्ने हेतुका साथ बीमामा आवद्ध भएका व्यक्तिले सरकारी अस्पतालमा कूल औषधोपचार खर्चको १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत कोपेमेन्ट(सह भुक्तानी) बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

 


Author

थप समाचार
x